कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ क्रियटर च्याम्पियन राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान भएको बताएका छन् । शुक्रवार विराटनगरमा आयोजना भएको क्रियटर च्याम्पियन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाल रिपब्लिक मिडियाले थालेको अभियान राष्ट्र र नागरिकका लागि महत्त्वपूर्ण अभियान भएको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सबै तहमा रहेका नेपाली नागरिकले आफ्नो जिम्मेवारी पूरा गरे देश बनाउन धेरै समय नलाग्ने धारणा राखे । मुख्यमन्त्री कार्कीले प्रिन्ट मिडिया, अनलाइन र सामाजिक सञ्जाललाई सकारात्मक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।
उनले अहिलेको प्रणाली विगतको भन्दा राम्रो भएका कारण आफ्नो कर्तव्य र दायित्व भुलेर गाली गर्नु उपयुक्त नभएको बताए । कार्कीले भने, ‘कोही हत्या, हिंसाको बाटोबाट आएर अहिलेको प्रणालीलाई गाली गरिरहेको र विगतमा काम गर्न नसकेर जनताबाट विस्थापित भइसकेकाहरूले पनि अहिलेको प्रणालीलाई गाली गरिरहेका छन् ।’
मुख्यमन्त्री कार्कीले जिल्ला, अञ्चल, विकास क्षेत्र हुँदा भन्दा अहिलेको सङ्घीयतामा कम खर्च भइरहेको दाबी गरे । जुनसुकै विषयमा पनि सरकारलाई गाली गर्ने प्रवृत्ति बढेको भन्दै मुख्यमन्त्री कार्कीले नागरिकले आफ्नो दायित्व बुझ्न जरुरी रहेको धारणा राखे ।
राष्ट्रिय पुँजीको विकास आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिको व्यवसायीकरण आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए । उनले नेपालमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेका कारण कोसी प्रदेश सरकारले धार्मिक पर्यटनलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका धार्मिक पर्यटकीय स्थलहरूलाई सुविधा सम्पन्न बनाउने विषयमा सरकार लागि परेको बताए ।
मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकारले पदयात्राका मार्गहरूको विकासका लागि पनि काम थालिसकेको जानकारी दिए । उनका अनुसार चिया ट्रेड, लाली गुराँस ट्रेड, महागुरु फाल्गुनन्द ट्रेल र मुन्दुम ट्रेलको निर्माण गरी स्वदेशी तथा विदेशी पर्यटक भित्राउने कोसी प्रदेश सरकारले लक्ष राखेको बताए ।
उनले पदमार्गको निर्माण गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठुलो सङ्ख्यामा रोजगारी पनि सृजना गर्ने प्रदेश सरकारको लक्ष रहेको स्पष्ट पारे । मुख्यमन्त्री कार्कीले पहाडबाट तराई र विदेशतिर बसाई सर्ने प्रवृत्तिको अन्त्य गरी पहाडतिर बसाई सर्ने वातावरण निर्माण गर्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । ‘अब, पहाडतर्फ नै अन्य क्षेत्रबाट बसाई सर्ने अवस्था बनाउँदैछौं’ मुख्यमन्त्री कार्कीले भने ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले केही मानिसहरूले देश बन्दैन भन्दै अफवाह फैल्याउने गरेको बताए । देशका विषयमा नकारात्मक भाष्य सृजना गर्ने प्रयास भइरहे पनि नागरिक तहबाटै यस्ता अफवाहहरूलाई चिर्न आवश्यक रहेको उनको भनाई छ ।
अठोट, इच्छा शक्ति र इमानदार भए देश बनाउन धेरै समय नलाग्ने दाबी गर्दै उनले मुलुक बनाउने दायित्व सरकारको मात्रै नभई आम नागरिकको भएको उल्लेख गरे । सबैको साझा प्रयास भए केही वर्षमै समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रमका मेन्टर तथा मोरङ अटो वर्कसका अध्यक्ष विष्णु अग्रवालले व्यापारमा अठोट र प्रतिबद्धता आवश्यक रहने धारणा राखे । उनले भने, ‘व्यापार गर्दा उतार चढाव आउने भए पनि निरन्तरता, अठोट र प्रतिबद्धता भए व्यापारमा सफलता मिल्छ ।’
अग्रवालले नयाँ पुस्ताले धैर्यताका साथ आफ्नो ‘आइडिया’लाई निरन्तरता दिए एक दिन सफलता मिल्ने बताए । उनले विराटनगरमा सामान्य ग्यारेजबाट सुरु भएको मोरङ अटो अहिले देशकै स्थापित ब्रान्ड हुन सफल भएको उदाहरण दिए ।
कार्यक्रमकी मेन्टर तथा एनसेलकी निर्देशक विशाखा खड्काले एनसेलले वार्षिक ३ खर्ब बढी रकम सरकारलाई कर तिरिरहेको बताउँदै एनसेल फाउन्डेसनमार्फत विभिन्न सामाजिक काममा वार्षिक २ अर्ब बढी रकम खर्च गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले नागरिक दैनिकले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नाराका साथ राष्ट्र निर्माणका लागि युवा पुस्तालाई जागरूक बनाउन अभियान सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल रिपब्लिक मिडियाले देशभरबाट भिडियो मार्फत प्रस्तुत गरिने उत्कृष्ट आइडियालाई पुरस्कृतसमेत गर्ने कार्यक्रममा जानकारी दिएको छ । कार्यक्रममा सहभागीहरूलाई भिडियो बनाउने तरिकाका विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा विराटनगरका विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
‘म नागरिक म बनाउँछु नेपाल’ आइतबार जनकपुरमा आयोजना हुँदै छ।
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्ष ६७.४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको छ । मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष ०८१-०८२ मा ६७ .४१ प्रतिशत वेरुजु फर्स्यौट गरेको जानकारी दिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मन्त्रालयले कुल ५ अर्ब ९५ करोड ९५ करोड,४९ लाख ५८ हजार वेरुजु मध्ये ४ अर्ब १ करोड ४४ लाख ३३ हजार रुपैयाँ फर्स्यौट गरेको जानकारी दिए । मन्त्री नियुक्त भए लगत्तै गत वर्ष मन्त्री राईले मन्त्रालयको वेरुजु फर्स्यौटमा ध्यान केन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसपछि मन्त्री राईले वेरुजु फर्स्यौट अभियान नै सञ्चालन गरेका थिए ।
‘धेरै वेरुजु भएको मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत कार्यालयमा वेरुजु फर्स्यौट अभियान नै सञ्चालन गरेपछि वेरुजु फर्स्यौटमा उल्लेख्य प्रगति हाँसिल भयो ’ मन्त्री राईले भने ।
उनका अनुसार मन्त्रालयले असुल उपर गर्नुपर्ने वेरुजु ४४ करोड ६७ लाख ८४ हजार रुपैयाँ मध्ये ३२ करोडमध्ये १० करोड ९८ लाख ७८ हजार रुपैयाँ असुल गरेको छ । यस्तै पेश्की वेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार रुपैयाँ मध्ये ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ फर्स्यौट गरेको छ । यस्तै नियमित गर्नुपर्ने वेरुजु २ अर्ब ३५ करोड ८२ लाख ९८ हजार रुपैयाँ मध्ये १ अर्ब १ करोड ९७ हजार रुपैयाँ फर्स्यौट भएको मन्त्री राईले जानकारी दिए ।
राईले गत आर्थिक वर्ष मन्त्रालयले पाएको १० अर्ब ४१ करोड रुपैयाँ बजेटमध्ये ८ अर्ब ५० करोड खर्च गरेर ७३.६९ प्रतिशत वित्तीय प्रगती हाँसिल गरेको राईले दाबी गरे । मन्त्री राईले मन्त्रालयले ६२ वटा बहुवर्षीय आयोजना मध्ये ३२ वटा सम्पन्न गरेको र २६ वटा कार्यान्वयनको अन्तिम चरणमा रहेको बताए ।
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...