पोखरामा कार्यक्रमका दौरान आगोले पोलेपछि उपचार गराइरहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज हुने भएका छन् । जलनको घाउ निको हुने क्रममा रहेको र फोक्सोमा समेत कुनै संक्रमण नदेखिएपछि कीर्तिपुर बर्न अस्पतालले उनलाई सोमबार डिस्चार्ज गर्ने भएको हो ।
कीर्तिपुर अस्पतालका निर्देशक डा.किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो २ दिनदेखि उपचार गराई रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराईन्छ । दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।'
मेयर आचार्यको भने थप केही दिन चिकित्सकको निगरानीमा राखेर उपचार हुने भएको छ । पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेका आचार्यलाई ह्दयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले थप उपचार आवश्यक रहेको अस्पतालले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषसँग परामर्श भइरहेकाले केहि दिन थप उपचार हुने जानकारी गराइन्छ ।'
अस्पतालले संक्रमणको जोखिम कम गर्न मेयर आचार्यसँगको भेटघाट तत्काललाई बन्द गर्ने निर्णय कायमै राखेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्।
अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रु ५०० भन्दा ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक पर्ने आशय व्यक्त गरेका हुन्। 'हाम्रो मात्रै निर्णयले भारु ५०० दरका नोट यहाँ चलाउन सम्भव छैन। हामीले फेरि भारत पठाउनुपर्ने भएकाले त्यो सहज छैन, त्यसभन्दा साना दरका नोटमा भने समस्या छैन,' अर्थमन्त्री पौडेलले भने।
आजको बैठकमा सांसदहरूले ठूला दरका भारतीय बैंक नोट नेपालमा नचल्ने र अमेरिकी डलर पाँच हजार तथा भारु छ लाखभन्दा बढी नेपालमा बोक्न नमिल्ने भएका कारण त्यसले पर्यटकलाई समस्यामा पारेको विषय उठाएका थिए। जवाफमा अर्थमन्त्री पौडेलले भारु चार लाखसम्म भन्सार घोषणा नगराइकनै र भारु छ लाखसम्म भन्सार घोषणा गराएर नेपाल ल्याउन पाउने व्यवस्था रहेको बताउँदै पछिल्लो समय डिजिटल भुक्तानी र क्युआरबाट हुने कारोबारले सहज बनाएको बताए। भारतले २०७३ सालमा नोटबन्दी गर्नुअघि नेपालमा भारु ५०० दरभन्दा ठूला नोटहरू चलनचल्तीमा थिए। तर नोटबन्दी पछि भारतले नेपालमा रहेका भारु साटेको थिएन।
समितिको आजको बैठकमा अर्थमन्त्री पौडलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई समितिबाट चाँडो टुङ्ग्याइनुपर्नेमा आवश्यकता औँल्याए। 'बाफिया विधेयक समितिबाट चाँडो पारित भएर जाओस्। जुन तहसम्मको छलफलको माग गर्छ त्यो छलफल गरौँ। हतारमा निर्णय गर्ने भनेको होइन। तर छिटो निष्कर्षमा पुँगौँ,' अर्थमन्त्री पौडेलले भने। विधेयकलाई चाँडो अन्तिम रूप दिनका लागि चाहिने सबै किसिमका सहयोग गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ।
बाफिया विधेयकमाथि सांसदहरू देवेन्द्र पौडेल र डा अमरेशकुमार सिंहले राखेको संशोधन प्रस्तावमाथि आजको बैठकमा छलफल भएको थियो। सांसद पौडेलले बाफिया संशोधनमार्फत लगानीका लागि सहज बनाउने गरी कर्जा नीति अवलम्बन गरिनुपर्ने बताए।
त्यस्तै, सांसद सिंहले स्वार्थको द्वन्द्व हटाउनका लागि बैंकर र व्यवसायी छुट्याउनुपर्ने, उत्पादनशील क्षेत्रमा कर्जा लगाउने बढाउने, निश्चित व्यावसायिक घरानाले मात्र कर्जा प्रयोग गर्ने अवस्था अन्त्य गरेर सर्वसाधारणलाई पनि सजिलै कर्जा उपलब्ध गराउन सकिने नीति लिइनुपर्ने, क्रिप्टोकरेन्सी कारोबारलाई कानुनको दायराभित्र ल्याउनुपर्नेलगायत सुझाव दिएका थिए।
बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिले १९ लाख ६० हजार ऋणीलाई रु ५६ खर्ब हाराहारीमा कर्जा प्रवाह भएको बताए। त्यस्तै, अहिले बैंकिङ प्रणालीमा रु ७० खर्ब हाराहारी निक्षेप रहेको उनको भनाइ छ। राष्ट्र बैंकले कृषि, ऊर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रगत कर्जालाई प्राथमिकता दिएको र किसान तथा महिलालक्षित सहुलियत अनुदान कार्यक्रम चलाइरहेको बताए।
यो विधेयक २०८० चैतमा संसद्मा दर्ता भएको थियो। समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयर धनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत विषय राखिएका छन्।
त्यस्तै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमनका लागि कानुनी प्रबन्ध गर्न पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...