सत्ता र शक्तिको दौडमा अग्रसर रहने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय सत्ताबाट बाहिरिएसँगै पुनः शक्ति सङ्कलनको अभियानमा छन्।
त्यसका लागि उनले मधेसलाई आफ्नो प्रमुख आधार क्षेत्र बनाएका छन्। सूर्योदयअघि ‘मर्निङ वाक’ बाट जनजागरण अभियान सुरु गर्ने र सूर्यास्तअघि जनसभामा सहभागी भई अभियान समापन गर्ने शैली अपनाउँदै आएका छन्। कोशी प्रदेशको झापाबाट प्रारम्भ गरिएको यो अभियान पश्चिमतर्फ लम्किरहेको छ।
शुक्रबार राति सप्तरी हुँदै सिरहाको भगवान्पुर आइपुगेका दाहालले स्थानीय जनसहभागिता देखेर उत्साहित हुँदै भने, ‘सिरहा मेरो माइती घर हो।’ भगवान्पुरमा रात्रि बसाइ गरेका उनी शनिबार बिहान कार्यकर्ताहरूको लस्करसहित ‘मर्निङ वाक’ गर्दै सिरहा नगरपालिकातर्फ अघि बढे। जति अगाडि बढ्दै थिए, उति नै स्थानीयको भीड बढ्दै थियो।
हुलाकी राजमार्गमा ‘मर्निङ वाक’ गर्ने क्रममा दाहालको दायाँबायाँ माओवादीका दुई उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन देखिन्थे। पार्टीभित्र आ–आफ्नो गुट चलाइरहेका यी दुई नेतालाई साथमा राखेर अघि बढ्दा माओवादी कार्यकर्ताहरूमा नयाँ ऊर्जा सञ्चार भएको देखिन्थ्यो।
जनार्दन शर्मा लामो समयदेखि दाहाललाई पार्टीभित्र चुनौती दिइरहेका नेतामध्येका एक हुन्। केन्द्रीय कमिटी बैठकमा उनले भनेका थिए ‘हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आउनुभयो। महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा जाऔँ, उहाँले पनि चुनिएर अध्यक्ष हुने मौका पाउनुहुन्छ।’
मधेसको जागरण अभियानमा देखिएको जनसहभागिताले दाहाल फुरुङ्ग हुँदै सम्झे ,‘चुनौतीको सामना गर्न जहिल्यै मधेस त्यसमा पनि सिरहाले आफूलाई निर्णायक मत दिएर सत्ता नेतृत्वमा पुर्याएको छ।’ यहाँका जनताको उत्साहपूर्ण सहभागीले आफूलाई र पार्टीलाई ज्यादै उत्साही तुल्याएको दाहालले दोहर्याए।
झापाबाट सुरु भएको ‘जनतासँग माओवादी–तराई मधेस जागरण अभियान’ का पाँच प्रमुख लक्ष्य निर्धारण गरिएको छ- राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति–कार्यक्रम जनतासम्म पुर्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, सङ्गठनलाई स्थानीय स्तरसम्म विस्तार गर्ने, जनताका गुनासा तथा सुझाव सङ्कलन गर्ने र पार्टी नेतृत्व तथा जनताबिचको सम्बन्ध बलियो बनाउने।
यही अभियानका क्रममा दाहालले स्थानीय कार्यकर्ताका घरघरमा पुगिरहेका छन्, ज्ञापन पत्र ग्रहण गर्दै गुनासो सुन्दैछन्। उनले सिरहाका विभिन्न कार्यक्रममा भने, ‘यहाँ आउँदा निकै नै उत्साह महसुस गरिरहेको छु। सिरहामा मैले २०७० सालकै जस्तो माया पाएको छु। त्यो बेला सिरहा क्षेत्र नम्बर-५ बाट संविधानसभा सदस्य निर्वाचित भएर मुलुकको प्रधानमन्त्री बनेको उनले सम्झे।’ यसो भनिरहँदा दाहालको अनुहारमा उत्साहको झलक प्रष्ट देखिन्थ्यो।
२०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा माओवादीले मधेसबाट पनि अनपेक्षित चुनावी सफलता हात पारेको थियो। अबको ०८४ को निर्वाचनमार्फत पनि माओवादी सबभन्दा ठूलो पार्टी बनेर उदाउने उनको दाबी थियो। ‘अहिले अभियानमा जनताले माओवादीप्रति देखाएको लगाव’ ले त्यो देखिएको दाबी उनको थियो।
उनले थपे ‘यो पटक माओवादीलाई जिताएर मात्रै यो देशमा स्थायित्व पनि हुन्छ, सुशासन पनि हुन्छ भन्ने कुरा जनताले बुझिसकेका छन्। हेर्नुहोला, तपाईँहरूकै आँखाअगाडि अहिलेको लहर देखिया छ नि, यो लहर हामीले लिएर (अगाडि) जाँदा हामी एक नम्बर पार्टी हुन्छाैं भन्ने कन्फिडेन्सका साथ हिँडेका छौं।’
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।
कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।
राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।
उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।
उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...