मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले सप्तरीको राजविराजमा सञ्चालित सात स्वास्थ्य संस्थाको निरीक्षण गरेको छ। अनुगमनका क्रममा दुई अस्पताल अवैध रूपमा सञ्चालन भएको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्वास्थ्य क्लिनिकको अनुमति लिएर पोलिक्लिनिकको सेवा प्रदान गरिरहेको भेटिएपछि बन्द गर्न निर्देशन दिइएको छ।
यस क्लिनिकले शय्यासहितको इमेजिङ तथा शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको थियो, जसका लागि प्रदेश सरकारबाट छुट्टै अनुमति आवश्यक पर्ने नियम छ।
त्यस्तै, सेवा सञ्चालनको अनुमतिपत्र नलिई सञ्चालन भइरहेको भारती इमेजिङ सेन्टर लाई पनि बन्द गर्न निर्देशन दिइएको छ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुमति बिना नै सञ्चालन भएकाले यी संस्थाहरू बन्द गरिनुपर्ने निर्णय भएको हो।
अनुगमन टोलीले अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। यी अस्पतालहरू १५ शय्याको अनुमति लिएर सञ्चालन भए पनि मापदण्ड अनुसार सेवा प्रदान नगरेको पाइएको छ।
राजविराजकै ५० शय्याको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र अनुमतिपत्र नवीकरण गर्न भनिएको छ। त्यस्तै, २ सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक भए पनि सरसफाइ व्यवस्थापनमा सुधार आवश्यक रहेको भन्दै थप ध्यान दिन निर्देशन दिइएको छ।
मुख्यमन्त्री सिंहले संघ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिंह अस्पतालको पनि अनुगमन गरेका छन्। निरीक्षणका क्रममा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेको, अनुमति बिना केही कर्मचारी अनुपस्थित रहेको र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको पाइएको छ।
मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनलाई सेवाको गुणस्तर सुधार्न, जनशक्ति व्यवस्थापनलाई चुस्त बनाउन र उपकरणको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएका छन्।
साथै, संघीय स्वास्थ्य मन्त्रीसँग जनशक्ति व्यवस्थापन, सेवा विस्तार र उपकरण उपलब्धताका विषयमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।
कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।
राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।
उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।
उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...