२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले भनेका थिए, ‘संविधानसभा बैठकमा गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गर्ने सदस्य संख्याको बहुमत भएकाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ अनुसार गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’
संविधानसभाको पहिलो बैठकमा गुरुङको यो घोषणासँगै मुलुकमा दुई सय ४० वर्ष शासन गरेको राजतन्त्र सधैंका लागि अन्त्य भयो। संविधानसभाका सदस्यले मात्र होइन, आमनेपालीले खुसी मनाए, सडकमा निस्केर दीपावली गरे।
त्यसबेला आमजनतालाई लागेको थियो ‘अब देशको शासन र आसन बदलियो, अवस्था पनि फेरिने छ। अब मुलुक आर्थिक विकास र समुन्नतिको बाटोमा अघि बढ्ने छ।’ तर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दुई दशक भइनसक्दै सात दशक लामो संघर्षपछि संविधानसभाबाट जारी संविधान र गणतन्त्रमाथि नै प्रश्न उठ्न र उठाउन थालिएको छ।
व्यवस्था फेरिए पनि अवस्थामा कुनै परिवर्तन नआएको, शासन र शासक फेरिए पनि प्रवृत्ति नबदलिएको भन्दै जनताले व्यवस्थामाथि नै प्रश्न उठाएका छन्। र, जनताले राजनीतिक नेतृत्वप्रति चरम निराशा र अविश्वास प्रकट गरिरहेका छन्। गरिबी, पछौटेपन, विभेदको अन्त्य राजनीतिक दल र नेतृत्वको प्राथमिकतामा नपरेको जनताको बुझाइ छ।
मुलुकबाट राजा र राजतन्त्र हटे पनि दल र नेतामा राजतन्त्रकै नक्कल गर्ने बानि र जनताभन्दा आफू र आफ्नाको पक्षमा उभिने प्रवृत्तिले निरन्तरता पाएको छ। देशको सर्वोच्च पदमा जनताका छोरोछोरी पुगे पनि उनीहरूको मानसिकता परिवर्तन हुन नसकेको बुझाइ गहिरिँदो छ। त्यति मात्र होइन, सरकार र राष्ट्र प्रमुखले आफूअनुकूल नहुँदा संविधान र कानुनको पटकपटक उल्लंघन गर्ने प्रवृत्तिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा निरन्तरता पाएको गुनासो बाक्लो छ।
नयाँ सरकार गठन भएपिच्छे नयाँनयाँ काण्डहरू थपिँदै जाँदा मुलुकमा भ्रष्टाचार र कुशासन मौलाएको बुझिन्छ। सत्तामा हुँदा भ्रष्टाचार र अयिमितताका सबै काण्डमा चुप लाग्ने राजनीतिक दल र नेताहरूले विपक्षमा पुगेपछि त्यही विषयलाई उराल्ने गरेका छन्। दलहरूको यस्तो द्वैध चरित्रलाई जनताले निको मानेका छैनन्।
त्यति मात्र होइन, नयाँ संविधानअनुसार बनेको प्रदेश संरचनाका विषयमा जनस्तरबाट सबैभन्दा धेरै प्रश्न उठेका छन्। प्रदेश सरकारहरूले औचित्य पुष्टि गर्न नसक्दा यसले मुलुकमा आर्थिक भार मात्र बढाएको आमबुझाइ छ। तर दलहरू संघीयतालाई बलियो र कामकाजी बनाउन लागिपरेका छैनन्। बरु नेताहरू स्वार्थ पूरा गर्न बेलाबेलामा संघीयताकै विपक्षमा अभिव्यक्ति दिन उद्यत् छन्।
संविधानले सातवटा प्रदेशसहित समानुपातिक समावेशी सिद्धान्तमा आधारित संघीय प्रणाली, शक्ति पृथकीकरण, समानुपातिक प्रतिनिधित्वसहित मिश्रित निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र, अधिकारसम्पन्न स्थानीय तह, जनउत्तरदायी कार्यपालिका, दुई सदनात्मक व्यवस्थापिका, स्वतन्त्र न्याय प्रणाली, पूर्ण प्रेस स्वतन्त्रता, सनातनदेखिको धर्म संस्कृतिको संरक्षण र धार्मिक स्वतन्त्रताको प्रत्याभूतिसहित धर्मनिरपेक्षताको व्यवस्था गरेको छ।
नयाँ संविधानका यिनै आधारभूत विषय हुन्। तर संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गरेका राजनीतिक दलहरूले नै यसका आधारभूत विषयमा प्रश्न उठाउने गरेका छन्। त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको वर्तमान संविधानलाई कमजोर बनाउँदै लगेको छ।
शासकीय कौशलता र सुशासनमा प्रमुख राजनीतिक दल र तिनका नेतृत्व कमजोर कहलिएका छन्। त्यसले जनतामा तीव्र निराशा र परिवर्तनकारी दलप्रतिको विश्वास कमजोर बन्दै गएको छ। यही समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा रहेका शक्तिहरू सल्बलाएका मात्र छैनन्, फेरि राजा र राजतन्त्रको पक्षमा आन्दोलन हुन थालेको छ। पूर्वपञ्चहरूको समूह भनेर कहलिएको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विभिन्न मोर्चाले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि नै गणतन्त्रको विरोधमा आन्दोलनको घोषणा गरेका छन्।
संविधानले कुनै पनि राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार दिएको छ। त्यसकाविरुद्ध प्रतिकार होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर राजनीतिक दलले नयाँ संविधानसहितको परिवर्तनप्रति जनतालाई आश्वस्त बनाउनुपर्ने हो, संविधान र कानुनमा कमजोरी छन् संशोधन गर्दै थप सर्वस्वीकार्य बनाउँदै लैजानुपर्ने हो।
शासकीय कमजोरीलाई सुधार गर्दै व्यवस्था मात्र होइन, जनताको अवस्थामा परिवर्तन ल्याउनेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने प्रमुख दलहरू नै अहिले फरक मत राख्ने शक्ति र समूहको प्रतिकार तथा प्रतिरक्षामा जुटेका छन्। यसले मुलुकलाई निकास र विकास होइन, मुठभेडतर्फ लैजाने विश्लेषण गर्न थालिएको छ।
व्यवस्था बदल्न पटकपटक संघर्ष गरेका मात्र होइन, सफल भएका दल र तिनका नेता शासकीय कौशलता देखाउन असफल भएका छन्। सत्ता स्वार्थ, भ्रष्टाचार, नातावाद, व्यक्तिवाद र पैसावादले नागरिकको गुनासो सडकसम्म आउन थालेको छ। राजनीतिक स्थायित्वको नारा दिने तर सरकार परिवर्तनको निरन्तर शृंखलाबाट जनता आजित भएका छन्। ढिलासुस्ती, अपारदर्शिता र कर्मचारीतन्त्रको मनोमानीबाट जनता आक्रोशित छन्। त्यसलाई गणतन्त्र विरोधी पक्षले जनता नै व्यवस्थाको विपक्षमा रहेको भन्दै सडक तताउने प्रयास गर्दै छ।
आमजनता संघीय लोकतान्त्रिक गणतन्त्रको होइन, चरम दलीयकरण, कुशासन, भ्रष्टाचार तथा ढिलासुस्तीको विपक्षमा उभिएका हुन्। यस्तो अवस्था राजावादी वा तिनका समर्थकका कारण होइन, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दल र नेताको कार्यशैलीमा नआएको परिवर्तनले उत्पन्न भएको हो।
दलका नेताले कार्यशैली परिवर्तन गरी देश, जनतालाई केन्द्रमा राखेर काम गर्ने हो भने जनतामा देखिएको असन्तोष सेलाउने छ। तर अवस्थामा परिवर्तन नआए व्यवस्थाको विपक्षमा जनता पनि नपुुग्लान् भन्न सकिँदैन।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट १८ वर्षअगाडि नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गरेका छन्। लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने जनाउँदै उनले सन्देशमा भनेका छन्, ‘राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो राज्यको चरित्रलाई बदल्नुपर्ने हुन्छ।’
शासकीय चरित्र बदल्न राजनीति, पार्टी र नेताको चरित्र पनि बदलिनुपर्ने उनले बताएका छन्। ‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्णलोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु,’ सन्देशमा भनिएको छ, ‘अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ।’
प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्। ‘हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सिर्जनशील र जनउत्तरदायी हुनैपर्छ,’ सन्देशमा भनिएको छ, ‘शासकीय संरचना र राज्यका अंगहरूलाई गतिशील र परिणाममुखी बनाउनैपर्छ। हामीले सुशासनको प्रत्याभूति दिनैपर्छ।’
राष्ट्रपतिले गणतन्त्रको सबैभन्दा ठुलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन्। ‘यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिक निराश नबनून भन्नेतर्फ हाम्रो चिन्ता हुनुपर्छ,’ उनले भनेका छन्, ‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन।’
यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवाले २०६२÷०६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभा निर्वाचनमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गरेको स्मरण गरेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ऐतिहासिक दिनलाई स्मरण गर्दै देउवाले बुधबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं।’
नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको पनि देउवाले बताएका छन्। समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुन आग्रहसहित देउवाले भनेका छन्, ‘यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’