उजिर मगर, रमेशकुमार पौडेल,हेटौंडा, माघ २० - २१ वर्षपछि एकीकृत माओवादीको एकताको सातौं महाधिवेशन शनिबार हेटौंडामा सुरु हुँदैछ। भूमिगत अवस्थामा छवटा महाधिवेशन सम्पन्न गरेको माओवादीको यो पहिलो खुला महाभेला हो। स्थापनाको साढे छ दशकबीच अनेकन् उतारचढाव बेहोरेको माओवादीको यस महाधिवेशनले राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिको ध्यान हेटौंडातर्फ खिचेको छ। टुटफुट, झापा विद्रोह, ०४८ को एकता महाधिवेशन हुँदै ०५२-०६२ दसवर्षे सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रिया हुँदै राज्यसत्ता नेतृत्वमा रहिरहेको अवस्थामा एकताको महाधिवेशन गरिरहेको छ।
नेपाली राजनीतिमा हुने परिवर्तनमा कम्युनिस्ट पार्टीहरुको भूमिका समयअन्तरालमा अलगअलग देखिएका छन्। ०४८ मा भएको एकता महाधिवेशनले लिएको माओवादी कार्यदिशा अहिले फरक मोडमा छ। दसवर्षे सशस्त्र संघर्षपछि शान्ति सम्झौता गरेर संविधानसभामा सबैभन्दा ठूलो दलका रुपमा निर्वाचित माओवादी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, राजतन्त्र अन्त्य एवं सशस्त्र संघर्ष पूरै परित्याग गरेर नयाँ मोडमा आइपुगेको अवस्थामा यो महाधिवेशन हुँदैछ।
यस्तो देखिन्छ महाधिवेशन माहौल (फोटो फिचर हेर्नुस्)

मकवानपुरसँग जोडिएका सबै जिल्ला र सडक महाधिवेशनको माहोलले घेरिएका छन्। ध्वजापतका, पोस्टरिङ, तुल-ब्यानरको सजावटमा लाग्छ, कुन घर, खम्बा, रुखसम्म छुटेका छैनन्। सर्वत्र एकताको सातौं महाधिवेशनका नारा छन्। स्वागत द्वारले नगर सजाइएको छ। बाहिरी प्रचारप्रसार, तामझाम हेर्दा लाग्छ, हेटौंडा विवाहमण्डपमा बसेकी बेहुलीजस्तो देखिएको छ।
पार्टीको भावी नीति तय गर्ने सातौं महाधिवेशनले सबैको ध्यान हेटौंडातिर तानेको छ। 'जनयुद्ध' सुरु गर्दासमेत महधिवेशन नगरेको माओवादी दसवर्षे सशस्त्र संघर्षलाई स्थगन गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्यावउन महाधिवेशनमा जुटेको छ। राजनीतिक गतिरोध थाती राखेर माओवादी आफ्नो पार्टी जीवन र राजनीतिक निकासनिम्ति आन्तरिक महोत्सवमा जुटेको छ। बाहिर जति झकिझकाउ छ, त्यही ढंगबाट पार्टी जीवन र राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने कार्यदिशा महाधिवेशनले कसरी दिनेछ, राजनीतिक पर्यवेक्षकहरु गौढ किसिमले नियालिरहेका देखिन्छन्।
समाजवादमा पुग्ने कम्युनिस्ट लक्ष्यअनुसार माओवादीले महाधिवेशनबाट 'क्रान्ति' को कस्तो मोडल तय गर्छ, त्यसले नेपाली समाजलाई कुन दिशातिर धकेल्नेछ, महाधिवेशनले टुंग्याउने यही विषयमा आमचासो देखिन्छ।
विश्व कम्युनिस्ट आन्दोलनमा समाजवादी दुई मोडल चर्चित छन्- रुसी र चिनियाँ। लेनिन, माओलाई पथप्रदर्शक मान्ने माओवादीले के त्यही मोडेल अपनाउला? कार्यकर्तासमेत भविष्यको बाटोबारे गम्भीर देखिन्छन्।
'मोडल कस्तो हुने भन्ने कसैको इच्छा वा चाहनाले तय गर्दैन। क्रान्तिको उचाइका आधारमा हामी तेस्रो मोडल तयार गर्छौं,' आयोजक समिति सदस्य राजकुमार शर्माले नागरिकसँग भने।
'जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने तथा समाजवादी क्रान्तिको तयारी गर्ने कार्यक्रमलाई पार्टीले चार आधार निर्माणको रणनैतिक योजनासँग जोडेर अगाडि बढाउन ध्यान दिनै पर्दछ,' महाधिवेशनमा निर्णायक छलफल गरिने अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तावित राजनीतिक मस्यौदामा भनिएको छ।
दाहालको प्रस्तावमा झन्डै ३ हजार हाराहारी महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकले बन्दसत्रमा गरमागरम बहस गर्नेछन्।
महाधिवेशन राष्ट्रिय राजनीतिक निकास र संविधान लेखनका लागि निर्वाचन वा संविधानसभा पुनर्स्थापना भन्ने बहसमा केन्द्रित हुने राजनीतिक अपेक्षा छ। बन्दसत्रमा अध्यक्ष दाहालको एउटै प्रस्तावमात्र पेस गरिने तयारीले यसअघिका महाधिवेशनजस्तो विवाद हुने सम्भावना न्यून छ।
एकीकृत माओवादीले सातौं विस्तारित बैठकबाट गुट अन्त्य भएको घोषणा गरे पनि प्रतिनिधि चयनका बेला गुटका केही अवशेष भने देखिएका छन्। 'जनयुद्धमा जाने बेला अनुभूति निकै तीव्रतामा हुन्थ्यो। अहिले यो प्रस्ताव तयार पार्दा त्यस्तै भएको छ। हामी एउटा ठूलो लडाइँतिर जाँदैछौं भन्ने नै अनुभूति भइरहेको छ,' दाहालले महाधिवेशनबारे आफ्नो अनुभूतिमा भनेका छन्।
सैद्धान्तिक मतान्तरका कारण पार्टी विभाजन भएको केही महिनापछि माओवादी महाधिवेशनमा जुटेको छ। नेतृत्वको हैसियतले दाहालले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदन २ सय ४१ सदस्यीय आयोजक समिति बैठकले एकमतमा पारित गरिसकेको छ।
सत्ता नेतृत्व हाँकिरहेका पार्टी मर्यादाक्रममा दोस्रो नेता उपाध्यक्ष बाबुराम भट्टराईले पनि यो महाधिवेशन एकता र विजयको हुने टिप्पणी गरेका छन्। 'हामीले यो महाधिवेशनलाई एकता र विजयको महाधिवेशन बनाउनै पर्छ। त्यसका निम्ति पहिलो कुरा त वैचारिक, राजनीतिक कार्यदिशालाई नयाँ उचाइमा उठाएर त्यसको बुझाइमा एकरुपता ल्याउनुपर्नेछ,' भट्टराईले दाहालको दस्तावेजमाथि टिप्पणी गरेका छन्, 'अध्यक्ष कमरेडबाट प्रस्तुत दस्तावेजले त्यसको राम्रो आधार तयार पारेको छ। दोस्रो कुरा भनेको संगठनात्मक एकता नै हो।'
साना गुट हुँदै ०४८ मा एकता महाधिवेशनबाट एकताकेन्द्र बनेको माओवादी ०५० सालमै विभाजन भयो। त्यही विभाजित समूह अहिले पुनः एकताको महाधिवेशनमा जुटेको छ। तत्कालीन मोटो मशाल, चौथो महाधिवेशन, सर्वहारा श्रमिक संगठन मिलेर बनेको एकताकेन्द्रकै बाहुल्य छ अहिले पनि माओवादीमा। संयोगले हेटौंडामा रहेको नेकपा (जनमुखी) समेत ०४८ को एकता महाधिवेशनमा मूलधारमा सामेल भएको थियो। अहिले त्यही नगरीमा एकताको सातौं महाधिवेशन भइरहेको छ।
एकता प्रक्रियाबाट आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनविद्रोह गर्न नसक्ने भएकाले यही प्रक्रियाबाट अघि बढ्ने बताएका छन्। एकताको सातौं महाधिवेशनबारे श्रेष्ठले भनेका छन्, 'अहिलेको उपलब्धिलाई संस्थागत गर्न नसक्दा प्रतिक्रान्ति हुने खतरा छ। हामीले सक्दा त जनविद्रोहद्वारा सत्ताकब्जा गर्ने नै हो। अहिलेका विविध कारणले त्यसो गर्न सकेनौं, त्यो संश्लेषण गर्यौं । अहिलेको उपलब्धि संस्थागत गर्न संविधान निर्माणमा जाने कार्यनीति बनायौं।'
पार्टीका तीनै शीर्ष नेताका यी टिप्पणीले महाधिवेशनमा सैद्धान्तिक मतभेद हुने देखिन्न। 'पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाट संविधान' भन्ने तत्कालीन कार्यनीति नै महाधिवेशनपछि पनि अवलम्बन गर्ने मुडमा माओवादी देखिन्छ। निर्वाचनमा जानेभन्दा संविधानसभा पुनर्स्थापना गरेर संविधान जारी गर्नेमा महाधिवेशनले बढी जोड दिनेछ। उपाध्यक्ष भट्टराईले महाधिवेशनलगत्तै सहमति, जेठ १५ भित्र निर्वाचन हुने ठोकुवा गरिसकेका छन्। यता, अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलन विजयनजिक पुगेको दाबी गरिसकेका छन्।
दाहालले प्रस्ताव गरेजस्तै पुँजीवादी जनवादी क्रान्तिका कार्यक्रम पूरा गर्न महाधिवेशनलगत्तै पार्टीले माथि र तलबाट हस्तक्षेपको नयाँ नीति अवलम्बन गर्नेछ। पाँच दिनसम्म चल्ने महाधिवेशनले अहिलेकै नेतृत्वलाई निरन्तरता दिने निश्चित देखिएको छ।
नेकपा : स्थापनादेखि आजसम्म
स्थापना : २००६ वैशाख १०
स्थान : भारत कलकत्ता
विधिवत घोषणा : २००६ भदौ ३०
संस्थापकहरू :
पुष्पलाल श्रेष्ठ
निरञ्जनगोविन्द वैद्य
नरबहादुर कर्माचार्य
नारायणविलास जोशी
संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ। हाल जीवित एकमात्र संस्थापक सदस्य नरबहादुर कर्माचार्य।
पहिलो महाधिवेशन
मिति : २०१० माघ १३-१७
स्थान : पाटन ग्याबहाल
महाधिवेशन प्रतिनिधि : ७८ जना।
पार्टी सदस्य : करिब ८ सयजना
केन्द्रीय समिति : १४ सदस्यीय
निर्वाचित नेतृत्व (महासचिव) : मनमोहन अधिकारी।
दोस्रो महाधिवेशन
मिति : २०१४ जेठ १४
स्थान : काठमाडौंको फोहोरा दरबार सिनेमाहल।
महाधिवेशन प्रतिनिधि २ सयजना
पार्टी सदस्य संख्या लगभग २ हजार
केन्द्रीय समिति : १७ सदस्यीय
निर्वाचित : केशरजंग रायमाझी (महासचिव)
तेस्रो महाधिवेशन
मिति : २०१९ वैशाख ४-१५
स्थान : भारत बनारस
महाधिवेशन प्रतिनिधि संख्या : ८८ जना
केन्द्रीय समिति : १७ सदस्यीय
निर्वाचित महासचिव : तुल्सीलाल अमात्य
चौथो महाधिवशेन
मिति : २०३१ भदौ ३० - असोज ७
स्थान : भारत, बनारस
केन्द्रीय समिति : १३ सदस्यीय
निर्वाचित : मोहनविक्रम सिंह (महासचिव)
पाँचौं महाधिवेशन
मिति : २०४१ मंसिर १-१६
स्थान : भारत, अयोध्या
महाधिवेशन प्रतिनिधि : १ सय ८ जना
केन्द्रीय समिति : १५ सदस्यीय
निर्वाचित : मोहन वैद्य (महासचिव)
एकताको छैठौं महाधिवेशन
मिति : २०४८ मंसिर
स्थान : माडी, चितवन
महाधिवेशन प्रतिनिधि : २ सय २२, पर्यवेक्षक ४९
केन्द्रीय समिति : ३३ सदस्यीय
निवाचित : पुष्पकमल दाहाल (महासचिव)
एकताको सातौं महाधिवेशन
२०६९ माघ २०-२५
महाधिवेशन प्रतिनिधि : करिब २५०० र ५ सय पर्यवेक्षक
पार्टी सदस्य संख्या : करिब ७ लाख