४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस्तो छ चुनावमा माओवादीको तीन रणनीति

काठमाडौं- अन्तरिम चुनावी सरकार गठनपछि एकीकृत माओवादीले देश दौडाहलाई तीव्रता दिएको छ। असार पहिलो साता चुनावमा जोड दिएको एकीकृत माओवादीले त्यसलाई स्थापित गर्न सकेन। संविधानसभा स्वतः भंग भएयता एकल पहिचान पक्षधर र त्यसलाई अस्वीकार गर्ने दलहरूबीच राजनीतिक ध्रुवीकरणले तीव्रता पायो।


सरकार गठनमा एजेन्डा मिलेको औंल्याउँदै माओवादीले मधेसी दलसँग संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गर्योो। प्रतिपक्षहरूले बाबुराम भट्टराई नेतृत्व सरकारको राजीनामा माग गरे। विभिन्न चरणको आन्दोलन गरे। राजीनामा भएन। स्वयं सत्ता पक्ष गठबन्धनले आमसभा गर्दै हिँड्यो। हेटौंडा महाधिवेशनबाट प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गर्ने प्रस्ताव राख्यो।

विपक्षी दलहरूसमेत एकीकृत माओवादीकै प्रस्तावमा अन्ततः सहमत भए। असार पहिलो साता संविधानसभा चुनाव गर्ने राजनीतिक 'म्यान्डेट' दियो अन्तरिम सरकारलाई। रेग्मी सरकारले त्यसको बेवास्ता गर्यो्। पछिल्लो समय चुनावी माहोल सृजना गर्न माओवादीले आमसभा, प्रशिक्षण गर्योक। त्यसबीच एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई छिमेकी मुलुक चीन र भारतको औपचारिक भ्रमण गरे।

मंसिरमा चुनाव गर्ने सरकार, निर्वाचन आयोगको तयारीप्रति राजनीतिक दलहरू आशावादी छन्। चुनाव हुनेमा जसरी आशा पलाएको छ, दलहरूले आफ्नो स्थान कहाँ छ भन्नेबारे आकलन गर्न सकेका छैनन्। एकीकृत माओवादी अध्यक्ष दाहालले अघि सार्ने प्रस्ताव, भाषणलाई खण्डन गर्नमा दलका नेताहरू केन्द्रित देखिन्छन्। अघिल्लो संविधानसभा चुनावमा ठूलो दल माओवादी स्वयंले आफ्नो आगामी निर्वाचनमा स्थान कहाँ रहने प्रस्ट्याएको छैन।

सबै दल आफूले बहुमत पाएमात्र संविधान लेखिने भाषणबाजीमा छन्। एकीकृत माओवादीले चुनावका लागि विभिन्न कार्ड फ्याँकेको देखिन्छ। 'एमाले सक्कियो' भन्ने अभिव्यक्ति दाहालले दिएपछि एमाले पूरै आक्रामक शैलीमा प्रस्तुत भएको छ। दाहालले नेकपा–माओवादीसँग चुनावी तालमेल हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्। दाहालको प्रस्तावलाई वैद्यले अस्वीकार गरेका छन्।

भट्टराई नेतृत्व गठबन्धन सरकारमा सहभागी दल, नयाँ राजनीतिक दलसँग तालमेल हुने सम्भावना रहेको माओवादीले बताउँदै आएको छ। पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान निर्माणका लागि आफूले जित्नुपर्ने माओवादीले जिकिर गर्दै आएको छ।

माओवादीले पछिल्लोपटक तीन कार्ड फ्याँकेको छ। पहिलो, नेकपा–माओवादीबाट धेरै नेता कार्यकर्तालाई पार्टी भिœयाउने वा चुनावी कार्यगत एकता। दोस्रो भट्टराई नेतृत्व सरकारमा सामेल रहेका बेला गठित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको निरन्तरता। तेस्रो पहिचान पक्षमा खुलेका नयाँ दल, गठबन्धन बाहिर रहेका मधेसी शक्तिसँग मोर्चा गठन गरेर चुनावमा जाने।

कांग्रेस–एमालेको मोर्चा बने स्वाभाविक ढंगले माओवादी ध्रुवीकरणमा जाने तयारीमा ऊ छ। 'अहिले मोर्चा बन्ने हल्ला सबैतिर छ। कांग्रेस–एमालेले मोर्चा बनायो भने माओवादीसँग स्वाभाविक रूपमा पहिचानवालाहरूसँग ध्रुवीकरण हुने देखिन्छ,' राजनीतिक विश्लेषक हरि रोकाले नागरिकसँग भने। आसन्न निर्वाचनका लागि अपनाइएका प्रक्रियाले मोर्चाबन्दीको सम्भावना बढाएको रोकाले बताए।

माओवादीको सभाहरूमा अन्य दलबाट पार्टी प्रवेश गर्ने लहर चलेको छ। त्यो लहरले माओवादी ढुक्क देखिन्न। एजेन्डा मिल्नेसँग तालमेल गरेर जाने सोच माओवादीले बनाएको छ। पार्टी विभाजनको असर, जनतामा आएको निराशा उसका लागि प्रत्युत्पादक बन्न सक्ने अडकल माओवादीले गरेको छ। 'हामीले एजेन्डा अघि सारेका छौं। त्यसमा सहमति हुनेहरूले जित्नुपर्छ भन्ने हो,' एकीकृत माओवादी नेता कृष्णबहादुर महराले भने।

'एकल पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान' निर्माण गर्ने एजेन्डा पार्टीले अघि सारेको महराले बताए। 'एकल पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान भन्ने हाम्रो एजेन्डा हो। यो एजेन्डा अघि सारेका छौं। यही एजेन्डामा सहमत हुनेहरूले बहुमत लिनुपर्छ भन्ने पार्टीको सोच हो,' महराले भने।

आगामी संविधान चुनावबाट एकीकृत माओवादीको स्थान भन्दा एजेन्डा निर्धारण गरिसकेको महराले बताए। 'पार्टी प्रवेशको लहर चलेको छ। पहिचानसहितको संघीयता चाहिन्छ भन्ने नयाँ शक्ति आएको छ। एजेन्डा मिल्नेसँग कार्यगत एकता हुन सक्छ। सरकार निर्माणमा मधेसी मोर्चासँग गठबन्धन भएजस्तै त्यसैलाई निरन्तरता दिन सकिन्छ,' महराले भने।

प्रकाशित: २२ वैशाख २०७० २१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App