३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्ण आकार लिँदै माओवादी; झालाई स्थायी, यमीलाई कोषको जिम्मेवारी दिने तयारी

काठमाडौं- एकीकृत माओवादीले पदाधिकारी र केन्द्रीय समिति विस्तार तयारी गरेको छ। उच्च स्रोतअनुसार एमालेबाट आएका रामचन्द्र झालाई स्थायी समिति सदस्य बनाउने योजना छ। नवप्रवेशीलाई उचित जिम्मेवारी दिएर पदाधिकारी र केन्द्रीय समिति पूरा गरिने स्रोतले जानकारी दिएको छ।


स्रोतका अनुसार जेेठ २५ देखि बस्ने केन्द्रीय समिति बैठकले केही असन्तुष्टलाई समेत जिम्मेवारी दिएर पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेको छ।

यसैगरी, एमालेका प्रभावशाली असन्तुष्टलाई पार्टीमा भिœयाउन वार्ता चलिरहेको स्रोतले जनाएको छ। एमाले पोलिटब्युरो सदस्य झा र उर्मिला अर्याल एकीकृत माओवादी प्रवेश गरिसकेका छन्। नवप्रवेशीलाई उच्च पद दिँदा पार्टीभित्रका पुराना नेता असन्तुष्ट हुने सम्भावनालाई ध्यान दिँदै जिम्मेवारी बाँडफाँट तयारी भएको एक वरिष्ठ नेताले जानकारी दिए।

झालाई पार्टी प्रवेश गराएपछि मधेसको आधार बलियो भएको माओवादी मूल्यांकन छ। माओवादीभित्र प्रभावशाली महिला नेतृ पम्फा भुसाल नेकपा–माओवादीमा गएकाले पार्टीमा महिला नेतृत्वको अभाव खड्किएकोमा अर्यालको प्रवेशले पूर्ति गर्ने माओवादी विश्लेषण छ।

एकीकृत माओवादी उच्च नेतृत्वमा हिसिला यमी एक्ली छन्। यमीलाई पदाधिकारीमा बढुवा गरेर कोषाध्यक्ष बनाउने तयारी गरिएको स्रोतले जनायो। यमीपछि शशि श्रेष्ठ, ओनसरी घर्तीमगर, देवी खड्का, कल्पना धमला छन्। नेकपा–माओवादीबाट फर्केकी 'युद्ध'कालकी चर्चित महिला नेतृ रेखा शर्मा अहिले ओझेलमा छिन्।

'पदाधिकारीको टुंगो लगभग लागिसकेको छ। नयाँ आएका साथीहरुलाई विशेष जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ। झाजीलाई स्थायी समितिमा लाने पक्कापक्की छ,' एक स्थायी समिति सदस्यले नागरिकसँग भने। अर्याललाई समेत विशेष जिम्मेवारी दिने तयारी भएको ती नेताले खुलाए।

'आगामी केन्द्रीय समितिले सबै टुंगो लगाउँछ। बाँकी वैकल्पिक सदस्य थपका लागि नाम सिफारिस भइरहेको छ,' ती नेताले भने। हेटौंडा महाधिवेशनले नटुंग्याएको पदाधिकारी चयनलाई आगामी बैठकले टुंग्याउनेछ। महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीलाई मात्रै निर्वाचित गरेको थियो। गुट विवादले सचिव र कोषाध्यक्ष चयन हुन सकेको थिएन।

स्रोतका अनुसार चार सचिव, एक कोषाध्यक्ष र वरिष्ठ पोलिटब्युरो सदस्यलाई स्थायी समितिमा बढुवा गर्ने तयारी छ। पदाधिकारीमध्ये चार सचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेललाई बनाउने विषय सहमतिनजिक छ।

वरीयतामा रहेका संस्थापक नरबहादुर कर्माचार्यलाई महाधिवेशनबाटै संरक्षक बनाइसकेको छ। अर्का वरीयतामा रहेका अमिक शेरचनलाई अनुशासन आयोगमा आयुक्त बनाइएको छ।

एउटै जिल्ला रोल्पाबाट महरा र पुन दुवैलाई सचिव बनाउन नहुने अडान लिएका जनार्दन शर्मालाई स्थायी समितिमा लाने छलफल जारी छ। वरीयता आधारमा स्थायी समिति जानेमा हरिबोल गजुरेल र अग्नि सापकोटा अगाडि छन्। भट्टराई पक्षबाट राम कार्कीलाई लगिने सम्भावना छ। स्थायी समितिका लागि शक्ति बस्नेत, देवेन्द्र पौडेल, नन्दकिशोर पुन, लोकेन्द्र विष्टमगर, चन्द्रप्रकाश खनालबारे छलफल भइरहेको स्रोतले जनायो।

प्रकाशित: ११ जेष्ठ २०७० २१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App