काठमाडौं - नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले राष्ट्रपति रामवरण यादवलाई राष्ट्रिय सहमतिका लागि सहजकर्ताको भूमिका निभाउन आग्रह गर्ने भएको छ।
'दलहरूबीच गोलमेचसभाका निम्ति राष्ट्रपतिबाट सहजकर्ताको भूमिका अपेक्षा गर्दै भदौ १३ गते ज्ञापनपत्र बुझाउने' निर्णय मोर्चाले सार्वजनिक गरेको हो। संविधानसभा निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै आएको मोर्चाले बिहीबार ज्ञापनपत्र बुझाउँदैछ।मोर्चाले मंसिर ४ लाई निर्धारित संविधानसभा निर्वाचन बहिष्कार आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै आफ्नो निर्णय पुनर्विचार गर्न सरकार र उच्चस्तरीय राजनीतिक समितिसमक्ष आग्रह गरेको छ।
पूर्ववत सहमतिको गोलमेचसभालाई चारदलीय राजनीतिक शक्तिले वैदेशिक शक्ति केन्द्रको इशारामा उल्टाएको आरोप मोर्चाले लगाएको छ। उसले वार्ता प्रक्रियाबाट प्रमुख राजनीतिक शक्ति नै भागिरहेको जिकिर गरेको छ। वार्तालाई निरन्तरता दिन प्रमुख चार राजनीतिक शक्तिले नचाहेकाले राष्ट्रपति यादवलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरेको मोर्चाले जनाएको छ।
गोलमेचमा जाने सैद्धान्तिक सहमति भदौ ६ गते भए पनि दुई दिनपछि मोर्चाले निर्वाचन स्थगन र सरकार परिवर्तनको मुद्दा बैठकको एजेन्डामा राख्न जोड गरेको थियो। त्यही कारण सैद्धान्तिक सहमति तोडिएको थियो। तर, वार्तालाई निरन्तरता दिन तयार रहेको मोर्चाले जनाएको छ।
'आजसम्म चार दलको पक्षबाट कुनै पनि पुनर्विचार भएको छैन। त्यसैले फेरि पनि गम्भीरतापूर्वक विचार गरी वार्ताका पहल गरेर राष्ट्रिय सहमति कायम गर्न जोडदार आग्रह गर्दछौं,' मोर्चाले भनेको छ।
आफ्नो माग सम्बोधन नभए बहिष्कारको कार्यक्रमलाई निरन्तरता दिने मोर्चाले चेतावनी दिएको छ। उसले ७५ जिल्लामा मोर्चा विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। मोर्चाले भदौ दोस्रो साता निर्वाचन बहिष्कारसम्बन्धी अन्तर्क्रिया गर्ने, भदौ २६ देखि असोज १ सम्म ६ चरणमा क्षेत्रगत बन्दको आयोजना गर्ने, असोज २ देखि ७ गतेसम्म मुख्य–मुख्य सहरमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने दिनलाई प्रभावित पार्नेगरी असोज ९ र १० गते नेपाल बन्द गर्ने मोर्चाले जनाएको छ। आयोगले १० गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
१२ भदौ २०७०
•
३ मिनेट पाठ