काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेतामा सर्वसम्मत नभए मंगलबार चुनाव गर्ने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले सहमतिको प्रयास जारी राख्ने र सहमति हुन नसके चुनावमा जाने निर्णय गरेको हो।
त्यसअघि १९ गते एमालेले सभासदहरूका लागि प्रशिक्षण कार्यक्रम राखेको छ। सभासदहरूलाई के गर्ने–के नगर्ने विषयमा प्रशिक्षण दिइने एक नेताले बताए। प्रशिक्षणकै क्रममा पनि संसदीय दलको नेतामा सहमति खोजिनेछ। एमालेले २० गते केन्द्रीय कमिटी बोलाएको छ । केन्द्रीय कमिटीमा संसदीय दलको नेतृत्व, सरकारमा सहभागिता, वैशाखमा हुने नवौं महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुनेछ।
पार्टी सचिव शंकर पोखरेलका अनुसार बैठकले सरकारमा सहभागिताबारे नेपाली कांग्रेससँग वार्ता गर्ने जिम्मेवारी वामदेव गौतम र विष्णु पौडेललाई दिएको छ । एमाले स्थायी कमिटी बैठक भोलि बिहान पनि जारी रहनेछ ।