काठमाडौं– नेकपा एमालेमा संसदीय दलको नेतामा सर्वसम्मत गर्न केन्द्रीय सदस्यहरूले शीर्ष नेतृत्वलाई रातभरको समय दिएका छन्। भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले सर्वसम्मतिको अन्तिम प्रयास गर्न भनेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
यसअघि बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्न आग्रह गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले भने संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई अघि सारेका थिए।
भोलि बिहानको बैठकमा पनि सहमति हुन नसके दिउसो २ बजे संसदीय दलको कार्यालयमा निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएको केन्द्रीय सदस्य रघु पन्तले बताए।