काठमाडौं– राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालालाई सरकारका प्राथमिकता स्मरण गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटवार्तामा यादवले प्रधानमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना दिँदै सरकारले ध्यान दिनुपर्ने विषय सुनाएका थिए।
राष्ट्रपति कार्यालयका अनुसार ती विषय थिए –
१. दलहरूको एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धतालाई पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्ने।
२. संविधान निर्माणलगायत सरकार सञ्चालनमा सकेसम्म सबै शक्तिलाई विश्वासमा लिने। सहमतिका आधारमा सरकार सञ्चालन गर्न सक्दो प्रयास गर्ने।
३. शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गरी पीडितलाई न्याय दिने।
४. पहिलो संविधानसभा विघटनपछि अवरुद्ध भएका कामहरु, जस्तै न्यायलय र संवैधानिक निकायका पदाधिकारी नियुक्त गरी ती निकायहरूलाई यथाशक्य चाँडो पूर्णता दिने।
५. राज्यका सबै अंगहरुको आपसी मर्यादा कायम गर्न गराउन ध्यान दिने।
६. संविधान तथा संवैधानिक सिद्धान्तको परिपालनामा जोड दिने।
७. सुशासन कायम गर्नमा जोड दिने, जस्तै– क. शान्ति सुरक्षाको प्रत्याभूति गर्ने, ख. भ्रष्टाचार नियन्त्रण गर्ने, ग. कानूनको शासन कायम गरी जनतामा न्यायको अनुभूति दिलाउने, घ. महँगी नियन्त्रण गर्ने उपायहरु अविलम्ब अपनाउने, ङ. जनतामा पुर्याउने सेवाको प्रभावकारितामा विशेष ध्यान दिने।