काठमाडौं– एमालेले चैतभित्र सदस्यता नवीकरण गरी जेठ २४–३१ सम्ममा नवौं महाधिवेशन गर्ने कार्ययोजना पारित गरेको छ। स्थायी कमिटीको बुधबार बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको हो।
सचिव युवराज ज्ञवालीले महाधिवेशनसम्बन्धी कार्ययोजना स्थायी कमिटीले पारित गरेको जानकारी दिए। ‘त्यसले निर्धारण गरेको तालिकाअनुसार महाधिवेशन हुनेछ,' सचिव ज्ञवालीले नागरिकसँग भने। पारित कार्ययोजनाअनुसार चैतभित्र सदस्यता नवीकरण गर्ने र नवीकरण भएका सदस्यता वैशाख २० सम्म संगठन विभागले प्रमाणीकरण गरिसक्नेछ।
संगठित सदस्यता नवीकरणपछि जेठ १५ सम्म सबै क्षेत्रबाट प्रतिनिधि छनोट गरिसक्ने पनि कार्ययोजनामा उल्लेख छ। महाधिवेशनमा १ हजार ८ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। यो संख्या ननाघ्ने गरी प्रतिनिधि निर्वाचनको अनुपात निर्धारण गरिने र महिला तथा दलित समुदायको प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिने पनि एमालेले जनाएको छ।
१ सय १० जिल्ला कमिटी र २ लाखभन्दा बढी संगठित सदस्यमध्ये धेरैवटा जिल्ला कमिटीमा सदस्यता नवीकरण हुन बाँकी रहेको पनि एमालेले जनाएको छ। चैत १५ सम्ममा जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि एमालेले गरेको छ।
स्थायी कमिटी बैठकले महासचिव पोखरेलको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन कमिटीमा नारायणी, बाग्मती र उपत्यकाका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका प्रमुखहरुलाई थप गर्ने निर्णय गरेको छ। महाविधेशनमा राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ। एमालेले अध्यक्ष झलनाथ खनाल संयोजक, उपाध्यक्ष वामदेव गौतम सह–संयोजकका साथै महासचिव पोखरेल, सचिवत्रय ज्ञवाली, विष्णु पौडेल र शंकर पोखरेलसहित २६ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको छ। समितिले तयार गर्ने दस्तावेज मस्यौदामा वैशाख पहिलो साता हुने केन्द्रीय कमिटीमा छलफल हुनेछ।
‘चैत मसान्तसम्म प्रतिवेदन तयार हुनेछ,' ज्ञवालीले भने, ‘केन्द्रीय कमिटी बैठक सकिएको एक महिनाभित्र तल्लो कमिटीमा छलफल गरि आवश्यक सुझाव लिने पनि कार्ययोजना छ।' त्यहाँबाट आएको सुझावलाई समेत समावेश गरी दस्तावेज महाधिवेशनमा जाने सचिव ज्ञवालीले जानकारी दिए। उनले बिहीबारदेखि नै दस्तावेज लेखन अघि बढ्ने जानकारी दिए।
महाधिवेशनमा समाजको वर्गीय चरित्र परिवर्तन भएको विषय पनि मुख्य एजेन्डा बन्ने भएको छ। कम्युनिस्ट पार्टी स्थापनादेखिकै अर्धसामान्ती र अर्धऔपनिवेशिक भन्ने परिभाषालाई परिवर्तन गर्नुपर्ने एजेन्डा युवा नेता घनश्याम भुसाललगायतले उठाउँदै आएका छन्। उनीहरुले समाज पुँजीवादी भइसकेको भन्दै त्यसैअनुसार नयाँ कार्ययोजना ल्याउनुपर्ने धारणा राख्दै आएका छन्।
महाधिवेशन आयोजनाका लागि विभिन्न उपसमिति गठन गर्दै त्यसका संयोजकहरु पनि तोकिएको छ। जसअनुसार विष्णु पौडेल (सुरक्षा), शंकर पोखरेल (जनपरिचालन), मुकुन्द न्यौपाने (खाद्य), सुरेन्द्र पाण्डे (आर्थिक), गंगालाल तुलाधर (आवास), प्रदीप ज्ञवाली (प्रचार), भीम रावल (अतिथी), योगेश भट्टराई (स्वास्थ्य), युवराज ज्ञवाली (सदस्यता प्रमाणीकरण), वाचस्पति देवकोटा (सांस्कृतिक) र विष्णु रिमाल (मञ्च व्यवस्थापन) रहेका छन्।