काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग निर्माणमा व्यवधान खडा गरिए नयाँ खालको द्वन्द्व सुरु हुने चेतावनी दिएका छन्।
आयोग निर्माणमा अवरोध भए शान्ति प्रक्रियाले पूर्णता नपाउने र संविधान पनि नबन्ने उनले दाबी गरे।
'अहिले दुईथरी शक्तिबीच टकराव भइरहेको छ। प्रतिगमन चाहनेहरू आयोग निर्माण रोक्नेतिर लागिरहेका छन्,' अखिल क्रान्तिकारीको १९ औं सम्मेलनको शुक्रबार कीर्तिपुरमा उद्घाटन गर्दै उनले भने, 'यो प्रक्रियामा कुनै अलमल गर्न हुन्न। कुनै अदालत वा राजनीतिक शक्ति जान्ने भएर आयोग गठन रोक्नेतिर नलागे हुन्छ।'
विस्तृत शान्ति सम्झौता र बाह्रबुँदे समझदारीअनुसार अघि बढेे मात्रै संविधान निर्माण हुने बताए। यसको विपरीत गए राजनीतिमा नयाँ कोर्ष सुरु हुने उनको चेतावनी थियो। 'हिजो संकटकाल लगाएर माओवादीको टाउकोको मूल्य तोक्नेहरू अहिले अन्तर्राष्ट्रिय अदालतको नाममा फेरि टाउकाको मूल्य तोक्न खोज्दैछन्,' अध्यक्ष दाहालले भने, 'यसरी शान्ति प्रक्रिया सफल हुन्न।'
अहिलेको राजनीतिमा प्रतिगमनको खतरा देखिएको उल्लेख गर्दै उनले एमाले र वैद्य नेतृत्वको नेकपा–माओवादीसँग छलफल गरेर कम्युनिस्टहरूको नयाँ शक्ति बनाएर अघि बढ्नुको विकल्प नभएको बताए।
त्यसअघि एमाओवादीका अर्का नेता बाबुराम भट्टराईले पनि नयाँ शक्तिको निर्माण गरेर बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए।