काठमाडौं-एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले ‘असहमतिका बाबजुद' आफू केन्द्रीय समितिमा फर्के पनि महाधिवेशनसम्म कुनै कार्यकारी पदमा नबस्ने अडान दोहोर्याएका छन्।बुधबार साँझ नागरिकसँग विशेष कुराकानीमा भट्टराईले विराटनगर सम्मेलनमा आफूले पेस गरेको सातबुँदे प्रस्तावलाई तल्ला कमिटीसम्म लैजान अध्यक्ष पुष्पकमल दाहाल सहमत भएकाले केन्द्रीय समितिमा फर्कने निर्णय लिएको प्रस्ट्याउँदै पदाधिकारी भने नबन्ने जनाउ दिएका हुन्।
विराटनगर सम्मेलनमा फरक मत राखेर पार्टीबाट बाहिरिएका भट्टराई दाहालसँग बुधबार सहमति भएपछि बिहीबारको नयाँ केन्द्रीय समिति बैठकमा पहिलोपटक सहभागी हुँदैछन्।
‘सातबुँदे मेरा प्रस्तावलाई तल्ला कमिटीसम्म लैजान अध्यक्ष (दाहाल) सहमत हुनुभएपछि म केन्द्रीय समितिमा फर्कने निर्णयमा पुगेको हुँ,' भट्टराईले नागरिकसँग भने, ‘पूर्ण सहमति जनाएर म फर्केको भने होइन, बाहिर प्रचार गरेजस्तो म उपाध्यक्षमा बस्ने निर्णयमा पुगेको पनि छैन।'
पार्टीको विशेष महाधिवेशनसम्म कुनै पनि कार्यकारी पदमा नबस्ने प्रस्ट्याउँदै भट्टराईले सातबुँदे प्रस्तावमा महाधिवेशनसम्म छलफल हुने जानकारी दिए।
संविधान लेखनमा उदासीन हुन नहुने, जनवादी केन्द्रीयताको परिभाषा स्पष्ट पार्नुपर्ने, एउटै कम्युनिस्ट केन्द्र निर्माणका नाममा गर्न खोजिएको एकीकरण प्रयास, भिन्न मतलाई सम्मान गर्नुपर्ने तथा भिन्न मत राख्नेलाई उचित जिम्मेवारी दिनुपर्ने, नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गर्नुपर्नेलगायत आफ्ना मागलाई तल्लो कमिटीसम्म लैजान अध्यक्ष दाहाल सहमत भएको उनको भनाइ छ।
अध्यक्ष दाहालले भट्टराई पक्षधरका २९ जना नेता समेटेर केन्द्रीय समिति विस्तार गरे पनि आफ्नो ‘नोट अफ डिसेन्ट' कायमै रहेको उनले बताए।
‘त्यो विस्तारित केन्द्रीय समिति चयनमा मेरो सहमति छैन, त्यो उहाँले एकलौटी ढंगले नै गर्नुभएको हो,' भट्टराईको भनाइ छ, ‘मुख्य कुरा युद्धकालीन केन्द्रीकृत नेतृत्व प्रणालीलाई रुपान्तरण गरेर बदलिँदो परिस्थितिअनुसार संगठन बनाउन उहाँले फेरि पनि सक्नुभएन, त्यसमा चुक्नुभयो।'
अध्यक्ष दाहालले आफ्नो व्यक्तिगत सम्बन्ध, गुटगत र स्वार्थगत समूहका आधारमा नै पुनः केन्द्रीय समिति विस्तार गरेकाले त्यसमा सहमति नजनाएको भट्टराईको भनाइ छ।
आर्थिक विकास र समृद्धिको एजेन्डामा जान सोहीअनुसारको संगठन निर्माण गर्नुपर्ने आफ्नो जोडबाट पछि नहटेको पनि उनले प्रस्ट पारे। ‘अबका वर्षका एजेन्डा आर्थिक विकास र समृद्धि हुन्, त्यहीअनुसार संगठन निर्माण गर्नुपर्छ भन्ने विषयमा बैठकमै जोड गर्नेछु, त्यहीँ लड्नेछु,' भट्टराईले भने। उनका अनुसार नेतृत्व हस्तान्तरण र युवा नेतृत्व स्थापित गर्ने विषयलाई जोड गरेर जाने योजना यथावत छ।
पार्टी एकीकरण सर्तमा अध्यक्ष दाहालले आफैंसँग छुट्टिएर गएका मोहन वैद्यलाई नेतृत्व दिन तयार रहेको बताए पनि भट्टराईले भने नेकपा–माओवादीसँग तत्काल एकता सम्भव नहुने दाबी गरे। ‘बाहिर कसले के भन्छ, के गर्छ त्यो कुराले कुनै अर्थ राख्दैन, एकतामा मुख्य कुरा राजनीतिक र वैचारिक नै हो,' भट्टराईले भने, ‘वैद्यजीहरूको कार्यदिशामा पार्टी एकता हँुदैन, हाम्रो कार्यदिशामा मात्रै पार्टी एकता हुन्छ।'
वैद्य माओवादीले लिएको कार्यदिशा र एमाओवादीले लिएको कार्यदिशा आकाश–पातल फरक रहेकाले पार्टी एकता ‘सस्तो प्रचारबाजी' मात्र भएको उनको टिप्पणी छ।
एमाओवादीको सम्पूर्ण ध्यान संविधानसभाबाटै प्रगतिशील संविधान बनाउन केन्द्रित गर्नुपर्नेमा अध्यक्ष दाहाल उक्त प्रक्रियामै उदासीन हुन खोजेको महसुस आफूलाई भएको भट्टराईले दोहोर्याएका छन्।
‘मुख्यतः संविधानसभाबाटै प्रगतिशील संविधान बनाउन पार्टीको विशेष जोड हुनुपर्छ, अध्यक्ष उदासीन हुन खोजेको हो कि भन्ने मेरो आशंका हो,' भट्टराईले भने, ‘संविधान लेखनबाट दायाँबायाँ गरियो भने त्यो पार्टी, क्रान्ति र मुलुक सबैका लागि घाटा हुन्छ, त्यसले झन् अप्ठ्यारोमा पार्छ भनेर मैले सर्तक गराएको हुँ।'
संविधानसभा प्रक्रियामा सामेल हुन नमानेको वैद्य नेतृत्वको दलसँग अध्यक्षले एकता प्रयास गर्न खोज्दा सशंकित हुुनु स्वाभाविक भएको उनले बताए।
नेतृत्व हस्तान्तरण प्रक्रियामा संसदीय दलका नेतामा कृष्णबहादुर महरा र पार्टी महासचिवमा टोपबहादुर रायमाझीलाई आफूले अघि सारे पनि तत्काल भने असफल भएको भट्टराईको स्विकारोक्ति छ।
‘संसदीय दलका नेतामा महराजी र पार्टी महासचिवमा रायमाझीलाई प्रस्ताव गरेको थिएँ,' भट्टराईले भने, ‘नेतृत्वका विरुद्ध भन्दा पनि एउटै व्यक्ति लामो समय मुख्य जिम्मेवार पदमा बस्दा संगठन जीवन्त हँुदैन भनेर मात्र यस्तो गरेको थिएँ, तर तत्काल यो लागू गराउन सकिएन।' क्षमताअनुसार पार्टी, सदन र सरकारमा समानुपातिक र समावेशीका आधारमा जिम्मेवारी बाँडफाँट गर्नुपर्ने आफ्नो एजेन्डा पार्टीमा स्थापित गराएरै छाड्ने उनको भनाइ छ।
विशेष महाधिवेशनसम्म मुख्यतः तीनवटा विषय उठान गरेर जाने भट्टराईको योजना छ। ‘बदलिँदो समयअनुसार मार्क्सवादको विकास गर्ने कार्यमा मेरो योगदान रहन्छ र आजको विश्व हेरेर मार्क्स र लेनिनले के भन्थे होलान् भन्ने प्रश्नको जवाफ दिने प्रयत्न रहनेछ,' भट्टराईले आफ्नो योजना सुनाए, ‘अबको विश्व भनेको आर्थिक विकास र समृद्धिको हो, त्यसका लागि कसरी पार्टीलाई रुपान्तरण गर्ने भन्ने नै रहन्छ, त्यसैका लागि मैले अनुसन्धान गर्ने भनेको हुँ।'
युद्धकालीन अर्थात् आन्दोलनरत अवस्थामा निर्माण हुने सांगठनिक मोडेल (टप टु बटम) ले अबको पार्टी चल्न नसक्ने भएकाले ‘बटम टु टप' अनुसार सांगठनिक संरचना निर्माण गर्न जोड गर्ने तेस्रो योजना भट्टराईले सुनाए।
तत्काल समाजवादी व्यवस्थामा जाने पार्टी योजना नरहेको पनि भट्टराईले प्रस्ट पारे। ‘सबैभन्दा पहिला पार्टीको जोड आर्थिक विकास र समृद्धिमा हुनुपर्छ, तत्काल वितरणमा गएर समाजवादी व्यवस्था लागू गर्नुपर्छ भन्ने पक्षमा म छैन,' भट्टराईले वैचारिक मतभेदबारे भनेका छन्, ‘त्यसैले मैले विराटनगरमै भनेको थिएँ, हामीले पाठो खाने समाजवाद होइन, हुर्काएर, बढाएर खसी खाने समाजवाद ल्याउनुपर्छ।'
‘त्यसैले सबैभन्दा पहिला संविधानसभाबाट प्रगतिशील संविधान निर्माण गरौं, त्यसका केही वर्ष आर्थिक विकास र समृद्धिमा जोड गरौं,' भट्टराईले योजना सुनाए, ‘त्यसपछि मात्रै समाजवादमा जाऔं।' अध्यक्ष दाहालले आफ्नो उक्त योजनाको कतै विरोध भने नगरेको भट्टराईले दाबी गरेका छन्।
तत्कालै अन्य स्थान र विचारबाट समेटेर भन्दा पार्टीलाई रुपान्तरण गरेर नयाँ शक्ति बनाउन आफूले खोजेको भट्टराईको भनाइ छ। ‘वैचारिक, राजनीतिक र सांगठनिक रूपमै पार्टीलाई रुपान्तरण गरेर एमाओवादीलाई नयाँ शक्ति बनाउन कम्तीमा पनि महाधिवेशनसम्म मेरो जोड रहनेछ,' भट्टराईले भने, ‘यदि यही पार्टीले आफूलाई रुपान्तरण गरेर नयाँ शक्तिको पूर्ति गर्न सकेन भने त्यो अर्को ठाउँबाट जन्मने नै छ, यसलाई कसैले रोक्न सक्दैन।'
प्रथम चरणमा आफूले माओवादीको रुपान्तरणमा जोड गर्ने तर त्यसो हुन नसके नयाँ शक्तिको नेतृत्व गरेर आफू अघि जान सक्ने सम्भावना भट्टराईले औंल्याएका छन्।