काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गर्न अनुमतिका लागि गृह मन्त्रालयले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। काठमाडौं क्षेत्र नम्बर २ को उपनिर्वाचन घोषणासँगै निर्वाचन आचारसंहिता लागू भएकाले काठमाडौं प्रहरी प्रमुख परिवर्तनको स्वीकृतिका लागि गृहले आज आयोगलाई अनुरोध गरेको हो।
आयोगका प्रवक्ता वीरबहादुर राईले गृहको पत्र प्राप्त भएको र सो विषयमा छलफल जारी राखेको नागरिकन्युजलाई जानकारी दिए। बढुवाका लागि डिआइजीहरू ब्रिफकेस बोकेर नेता र शक्तिकेन्द्रको ढोका धाइरहेको सार्वजनिक अभिव्यक्त दिएर विवादमा आएपछि गृहले काठमाडौं परिसरका प्रमुख रमेश खरेलको सरुवाको प्रक्रिया अगाडि बढाएको थियो।
प्रहरी प्रधान कार्यालयले उनको अभिव्यक्तिको अनुसन्धानका लागि डिआइजी विज्ञानराज शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। एक साताको म्याद पाएको समितिले काम सुरु गरे पनि निष्कर्ष आउनुअघि नै खरेललाई प्रहरी प्रधान कार्यालयमा तानेर गृहले उनको ठाउँमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी उत्तम कार्कीलाई ल्याउने निर्णय सोमबारै गरिसकेको छ।
आजै खरेललाई प्रधान कार्यालयमा तानेर कार्कीलाई काठमाडौं प्रहरी प्रमुखको पत्र दिने गृहले तयारी गरे पनि निर्वाचन आयोगको निर्णय नआएकाले प्रक्रिया रोकिएको छ।