काठमाडौं– नेपाल प्रहरीको एआइजी पदमा बढुवाका लागि सात जनाको नाम सिफारिस भएको छ। बढुवा सिफारिस समितिको भर्खरै सम्पन्न बैठकले डिआइजीहरू राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदलाई सिफारिस गरेको हो।
गृहसचिव सूर्य सिलवाल संयोजक रहेको बढुवा समितिमा मन्त्रिपरिषद्का सचिव दुर्गानिधि शर्मा सदस्य र उपेन्द्रकान्त अर्याल सदस्य छन्।
प्रहरी नियमावलीमा राखिएको बढुवाको नयाँ प्रावधानअनुसार प्रस्तावित नामहरूको नाम सार्वजनिक भएको हो। यी नामबारे कुनै गुनासो वा उजुरी भए पुनरावलाेकन समितिमा निवेदन दिन एक साताको समय तोकिएको हुन्छ। त्यसपछि नामावली मन्त्रिपरिषद्ले एआइजी बढुवालाई अन्तिम रुप दिन्छ।
बढुवा समितिले गरेको सिफारिसमा बरियता मिचिएको छ। अहिले बढुवा भएकाहरू सबै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै ब्याचका हुन्। २०४३ साल फागुन तीन गते प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरी २०६६ असोज २१ गते डिआइजी बनेकाहरू नै अहिले सिफारिसमा परेका हुन्। तर अर्याल आइजीपी नियुक्त भएपछि बरियतामा दोस्रो नम्बरमा चढेका नारायण बस्ताकोटी बढुवाको सिफारिसमा परेनन्। आठौं नम्बरका वीरेन्द्रबहादुर श्रेष्ठ र ११ औं नम्बरका प्रतापसिंह थापा भने सूचीमा परेका छन्।