काठमाडौं— पूर्ववत अडान दाेहाेर्याउँदै एकीकृत नेकपा माअाेवादी, मधेसवादीलगायत प्रतिपक्षी दलले अाज पनि संसद अबरुद्ध गरेका छन्। यसअघि सञ्चालनका लागि सहमति खोज्न संविधान सभा भवन नयाँ वानेश्वरमा बसेको मुख्य तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ।
संसद सुरु हुनासाथ सदभावना पार्टीका सभासद लक्ष्मण कर्णले पूर्ववत अडान दाेहाेर्याउँदै संसद अवरुद्ध पार्नु रहर नभई बाध्यता भएको बताएका थिए। ‘हामीले यसरी संसद अवरुद्ध गरिरहेका छौँ, यो रहर नभई बाध्यता हो,’ उनले भने, ‘तर हाम्रो मागप्रति सरकार र सत्ता साझेदार दलहरुले बेवास्ता गरे। हामी वार्ताबाट समाधान खोज्न तयार छौँ।’
यसअघि भएको ४ बुँदे सहमति कार्यान्वयन लगायतका माग राखेर एमाओवादी लगायतका विपक्षीले सदन अवरुद्ध गर्दै आएका छन्। एमाओवादीले संविधान सभा निर्वाचनमा भएको धाँधली छानबिन गरिनु पर्ने, गैर बजेटरी खर्चको अनुसन्धान गरिनुपर्ने एवं उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण लगायत माग राखेर शुक्रबारदेखि सदन अवरुद्ध पार्दै आएको छ। यी माग पूरा नभएसम्म संसद अवरोध जारी रहने कर्णले बताए। बजेट अधिवेशनको रुपमा रहेको संसद बैठक सुरुदेखि नै अवरुद्ध पारिँदा प्रि बजेट छलफल हुन पाएको छैन।
यसअघि तीन दलको बैठकमा एमालेले सहमति खोज्न एक दिन मागेपछि बैठक निर्णयमा पुग्न नसकेको एमाओवादी नेता बाबुराम भट्टराईले जानकारी दिए। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई सहभागी थिए। आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कोइराला र दाहालबीच यस विषयमा छुट्टै छलफल भएको थियो।