काठमाडौं-नेकपा एमालेको नवौं महाधिवेशनमा २ सय पार्टी सदस्य बराबर १ प्रतिनिधि चयन गरिने भएको छ। महाधिवेशन मुल व्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले महिला, दलित र पिछडिएको क्षेत्रको हकमा १ सय ५० बराबर १ प्रतिनिधि चयन गरिने बताए।
विधान संसोधन बारे पार्टी कमिटीहरुबाट सुझाव प्राप्त भएको बताउँदै उनले यसलाई अन्तिमरुप दिन समिति गठन भएको बताए। विधान संसोधनलाई अन्तिमरुप दिन अध्यक्ष खानाल संयोजक रहने गरी ११ सदस्यीय कार्यदल गठन भएको छ। जसमा सचिव त्रय युवराज ज्ञवाली, शंकर पोखरेल र विष्णु पौडेल रहेका छन्। यस्तै अन्य सदस्यहरुमा अष्ट लक्ष्मि शाक्य, प्रदिप ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, प्रकाश ज्वाला, वेदुराम भुषाल र भिम रावल रहेका छन्।
अहिले सम्म २ लाख ५५ हजार पार्टी सदस्यता नविकरण भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रवास र केहि जिल्लामा अझै नविकरणको काम बाँकी रहेकोले सदस्यता २ लाख ६० हजार नाघ्ने खनालले बताए।
महाधिवेशन प्रतिनिधि असार ७ गते चयन गरिसक्ने एमालेको योजना छ। तर संविधानसभा उप निर्वाचन हुने जिल्लामा भने केहि समय पछि चयन गरिने छ। एमाले महाधिवेशन असार १९ देखि २५ सम्म काठमाडौमा हुँदै छ।