चितवन– नेकपा एमालेको नवौं महाधिवेशनका लागि चितवनका पाँच क्षेत्रबाट ४४ प्रतिनिधि छानिएका छन्। प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन कार्यक्रम तय थियो। तर निर्वाचन कार्यक्रम स्थगित गरेर बुधबार जिल्ला नेतृत्वले प्रतिनिधिको नाम सार्वजनिक गरेको हो।
नवौं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका केपी ओली र माधव नेपाल पक्षमा रहेका जिल्ला नेताहरूले आधा–आधा प्रतिनिधि बाँडेर लिने सहमति गरेपछि निर्वाचन कार्यक्रम स्थगित भएको थियो। बराबर प्रतिनिधि चयन गर्न सहमत भए पनि नामको टुंगो लगाउन दुवै पक्षलाई हम्मेहम्मे परेको थियो।
प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता समेत भएपछि निर्वाचन कार्यक्रम स्थगित गरेको भनेर कार्यकर्ता आक्रोशित थिए। निर्वाचनमार्फत नै प्रतिनिधि चयन होस् भन्ने माग गर्दै जिल्ला पार्टी कार्यालय भरतपुरमा उनीहरूले नाराबाजीसमेत गरेका थिए।
‘सबै प्रतिनिधि निर्वाचन प्रक्रियामार्फत नै चयन भएका हुन्। उम्मेदवारी पनि खुला गरेको हो। आवश्यक ४४ जनाभन्दा अरुको उम्मेदवारी नपरेपछि मतदान भएन,' एमाले प्रचार विभाग समितिका संयोजक अरुण पीडित भण्डारीले भने, 'निर्वाचन समितिले नै ४४ जनाको नाम घोषणा गरेको हो।' आधा–आधा प्रतिनिधि बाँडेको हल्ला मात्रै भएको उनको दाबी छ।
एमालेका संगठित सदस्यमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गरिन्छ। प्रचार समितिका संयोजक भण्डारीका अनुसार चितवनमा एमालेका सात हजार ३९३ संगठित सदस्य छन्। खुलाबाट प्रतिनिधिमा चयन हुन दुई सय संगठित सदस्य बराबर एक, महिला र दलितमा १५० बराबर एक र मजदुरबाट सय बराबर एक प्रतिनिधि चयन हुन्छ।