काठमाडौं-एमाले संसदीय दलका नेता केपी शर्मा ओली पक्षले अध्यक्षका अर्का आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाललाई असफल देखाउन सातौं महाधिवेशनको मुद्दा उठाउने तयारी गरेको छ।
मदन भण्डारी फाउन्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता ओलीसहित उनीनिकट नेताले नेपालको नेतृत्वमा भएको सातौं महाधिवेशनले पारित गरेको नीति र नेतृत्व दुवै असफल भएको भन्दै नयाँ परिस्थितिमा पार्टीको नेतृत्व गर्न नसक्ने बताए।
'सातौं महाधिवेशन नीति र नेतृत्व दुवै दृष्टिले असफल रह्यो, संविधानसभामा जानुपर्ने प्रस्ताव हलमा प्रस्तुतसमेत गरिएन तर त्यसैमा नगई धर पाइएन,' ओलीले भने, 'त्यतिखेर गणतन्त्रको प्रस्ताव समेत पारित गरेर जान सकेनौं। आठौं महाधिवेशनमा आइपुग्दा देश गणतन्त्रमा गइसकेको थियो।'
अध्यक्षका प्रतिस्पर्धी ओलीले सातौं महाधिवेशनबाट निर्वाचित मुख्य नेतृत्वले आठौं महाधिवेशनअघि नै राजीनामा दिएर हिँड्नुपरेको भन्दै नेपाललाई असफल देखाउन खोजे। 'आठौं महाधिवेशनअघि नै पार्टीलाई कमजोर बनाएर राजीनामा दिनुपर्यो,' पहिलो संविधानसभा निर्वाचनमा पार्टी तेस्रो स्थानमा पुगेपछि नेपालले राजीनामा दिएको प्रसंगतर्फ इंगित गर्दै ओलीले भने, 'त्यस समय चयन गरिएको बलजफ्ती नेतृत्व काम लागेन। त्यसपछि कतिपय नेतालाई केन्द्रमा थप्नुपरेको थियो।'
२०५९ माघ १८ देखि २२ सम्म जनकपुरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले नेपाललाई महासचिवमा पुनःनिर्वाचित गरेको थियो। महासचिव प्रमुख रहने उतिबेलाको सगठन संरचनामा केन्द्रीय सदस्यलाई हलले मतदानबाट निर्वाचित गरेको थियो। उतिवेला केन्द्रीय सदस्यले महासचिव निर्वाचित गर्ने प्रावधान थियो। त्यसअनुसार नेपाल महासचिवमा निर्वाचित भएका थिए भने ओलीले प्रस्ताव स्थगन गरेका थिए।
नवौं महाधिवेशनको पूर्वसन्ध्यामा घुमिफिरी सातौं महाधिवेशनको मुद्दा वरिपरि बहस हुन थालेको छ। आइतबार ओलीले नेपाललाई असफल चित्रित गर्न खोजेको केही घन्टापछि नेपालले पत्रकार सम्मेलन गरी सातौं महाधिवेशनपछिको आफ्नो नेतृत्व सफल भएको बताए। 'सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले लिएको नीतिलाई अत्यन्त गौरवका साथ लिन्छु। त्यसले नै संविधानसभा मात्रै नभएर गणतन्त्रमा जाने ऐतिहासिक निर्णयसमेत गरेको थियो,' नेपालले भने, 'गणतन्त्रको नीति लिँदा अपाच्य ठान्नेहरू नै अहिले पुराना कुरा उठाइरहेका छन्।'
ओलीलगायत नेताहरुले गणतन्त्रको विरोध गरेको प्रसंग उल्लेख गर्दै नेपालले भने, 'पार्टीले लिएका नीतिका कारण राजतन्त्रको सातोपुत्लो उडेको मात्रै होइन, जरैदेखि उखेलिएको हो।' सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले नै संविधानसभा निर्वाचनमा जाने निर्णय गरेको पनि नेपालले बताए।
छुट्टाछुट्टै कार्यक्रममा वरिष्ठ नेता नेपाल र संसदीय दल नेता ओलीले नीतिअनुसारको नेतृत्व नहुँदा समस्या उत्पन्न हुने भन्दै त्यसतर्फ ध्यान दिन प्रतिनिधिलाई आह्वान गरेका छन्। महाधिवेशनको सन्दर्भमा उठाएका महत्वपूर्ण सैद्धान्तिक विषयलाई केन्द्रीय कमिटीले आधिकारिक दस्तावेज बनाएको नेपालले बताए।
ओलीले अहिलेसम्म नीति र नेतृत्वका विषयमा नमिल्दा नेपाली कम्युनिस्ट आन्दोलन समस्या परेको भन्दै नेतृत्वमा कस्तो व्यक्ति पुग्छन् भन्ने ध्यान दिनुपर्ने बताए। उनले दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पारित भए पनि केशरजंग रायमाझीलाई नेतृत्वमा पुर्याउँदा पार्टी संकटमा परेको प्रसंग उल्लेख गरेका थिए।
बहुमतको दाबी
दुवै नेताले बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षको चुनिएको भन्दै महाधिवेशनमा नेतृत्व जित्ने दाबी गरेका छन्। वरिष्ठ नेता नेपालले विज्ञप्तिमा भनिएको छ, 'प्रतिनिधि छनोटका क्रममा हाम्रा तिनै विचारमा आधारित भएर बहुसंख्यक प्रतिनिधि चयन हुनुभएको छ, जसबाट हामी उत्साहित छौं।'
ओलीले पनि कसको पक्षमा कति भनेर सञ्चारमाध्यमले सही रुपमा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। 'कोही सत्तरी प्रतिशत आयो भनेर नगरा बनाइरहेका छन्। सञ्चारमाध्यमका पनि जिल्ला रिपोर्टर छन्, कसको कति आएको हो, सही सूचना दिनुपर्यो,' ओलीले भने।