काठमाडौं– राजधानीमा जारी नेकपा एमालेको नवौं अधिवेशनमा प्रस्तुत विभिन्न प्रस्तावहरूमाथि छलफल गर्न बनाइएको १९ वटा समूहमध्ये अधिकांशको टोली नेता चयनमा माधव नेपाल पक्ष र केपी ओली पक्षबीच चुनाव भएको छ।
कुन कुनै समूहबाट टोली नेताका लागि दुवै पक्षले अलग अलग नाम पठाएका छन्। सगरमाथाबाट एक पक्षले यज्ञराज सुनुवार र अर्को पक्षले सुमन प्याकुरेलको नाम पठाएको छ। भेरीमा पनि यमलाल कँडेल र विष्णु रिमाललाई अलग अलग पक्षले टोली नेता बनाएको छ।
चुनावबाट लक्ष्मण पौडेल, रामकुमार भट्टराई, देवेन्द्र दाहाल, लालकुमार केसी र सूर्य थापा टोली नेता छानिएका छन्। जनकपुरका टोली नेता पौडेलले शरद यादवलाई १५ मतले र नारायणीका भट्टराईले अनन्त पौडेललाई १३ मतले पराजित गरे। यसैगरी मेचीका टोली नेता दाहालले चीनकुमार मेयाङ्बोलाई १३ मतले, बाग्मतीका केसीले कैलाश ढुंगेललाई पाँच मतले र केन्द्रीय निकाय विभागका थापाले विरोध खतिवडालाई १२ मतले हराए।
धवलागिरीमा माधव नेपाल पक्षले टोली नेता चयन प्रक्रियालाई बहिस्कार गरेको छ भने केपी ओली पक्षले मन केसीलाई टोली नेता छानेको छ।
यसअघि लुम्बिनी (तराई)मा खिमलाल भटराई, गण्डकीमा मायानाथ अधिकारी, सल्लाहकार परिषदमा गोपाल शाक्य, उपत्यकामा टंक कार्की, कोसीमा जीवन घिमिरे, केन्द्रीय जनवर्गीय संगठनमा महेश बस्नेत, राप्ती–कर्णालीमा कुमार जसौदी र मेचीमा देवेन्द्र दाहाल सर्वसम्मत टोली नेता भएका थिए।
टोली नेताको टुंगो लागिसकेपछि अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदनबारे समूहगत छलफल सुरु हुनेछ।