काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले मत हालेर मतदान कार्यको सुरुवात गरेका हुन्। मत हाल्न ६ किसिमको मतपत्र बनाइएको छ। पाँचवटा बुथमा एकैपटक ३५ जनाले मत दिनसक्ने व्यवस्था छ। पार्टीका प्रमुख निर्वाचन अायुक्त साेमनाथ प्यासीले मतदान कार्य १० घन्टामा सकिने बताएका छन्।
मतदानपछि प्रतिक्रिया दिँदै झलनाथ खनालले प्यानल बनाएर चुनावमा उत्रिनु राम्रो नभएको प्रतिक्रिया दिएका छन्। 'यसले निम्त्याउन सक्ने नकारात्मक परिणामप्रति हामीस चेत हुनुपर्छ,' उनले भने, 'प्रतिस्पर्धा तीव्र भएकाले सेलेक्टेड मान्छेहरू आउँछन् भन्ने मलाई लाग्छ।'
यसैगरी अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले चुनावी वातावरण उत्साहप्रद रहेको बताएका छन्। 'उत्साहप्रद छ, म जित्छु,' मतदानपछि उनको प्रतिक्रिया थियो।
अध्यक्षका अर्का प्रत्यासी केपी ओलीले निर्वाचनलाई सहज रुपमा लिनुपर्ने बताए। 'यो प्रजातान्त्रिक प्रक्रिया हो, यसलाई सहज रुपमा लिनुपर्छ,' उनले भने, 'जित्नेमा ढुक्क छु। सबैलाई मिलाएर अघि बढ्छु।'