काठमाडौं– एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले विकासवादीहरूको ध्रुवीकरण हुनुपर्ने बताएका छन्। पार्टीमा संगठितले मात्र समाज विकास गर्न नसक्ने उनको तर्क थियो।
'पार्टीभन्दा बाहिर ठूलो जमात छ, उनीहरुलाई समेट्न नसक्ने हो भने समाजको विकास हुन सक्दैन,' नेपाली अर्थ राजनीतिको पुँजीवादी रूपान्तरण विषयक अन्तर्क्रियामा उनले भने।
नेता भट्टराईले नेपालमा पुँजीवाद आइसकेको बताउँदै त्यो खियाउने अवस्थामा रहेको उल्लेख गरे। 'पुँजीवादबारे अहिले नेपालमा भइरहेको बहस राम्रो छ,' उनले सचेत गराए, 'पुँजीवाद आयो भन्दैमा यो पूर्ण छैन। कुण्ठित अवस्थामा रहेको पुँजीवादलाई विकास गर्न जरुरी छ।'
सामान्तवादको अन्त्य भइसकेको अवस्थामा पुँजीवादको भ्रूणलाई औद्योगिक पुँजीवादमा विकास गर्न जरुरी रहेको उनले बताए। राजनीतिकरूपमा गणतन्त्र आएसँगै नेपालमा पुँजीवाद आएको भट्टराईको दाबी छ। 'तर नेपालको पुँजीवाद युरोप वा अमेरिकाजस्तो छैन,' उनले भने।
पुँजीवादले मात्र समाज विकास हुन नसक्ने बताउँदै उनले अन्त्यमा समाजवादी क्रान्ति नै आवश्यक हुनेमा जोड दिए। पिछडिएका ठाउँमा समाजवाद टिकाउन कठिन भएको विगतका दृष्टान्तले देखिएको उनको विश्लेषण थियो।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेपालमा कम्युनिस्ट पार्टीहरू भए पनि मार्क्सवादी नभएको दाबी गरे। उनले नेपाली समाजको अर्थ–राजनीतिक विश्लेषण कम भएको बताउँदै पुँजीवाद आयो भनेर मात्र नपुग्ने बताए। 'हाम्रो पुँजीवाद र अन्यत्रको पुँजीवादबीच भिन्नता छुट्टयाउनुपर्छ,' उनले भने, 'पुँजीवाद भनेको उत्पादन पद्धतिमा आउने परिवर्तन पनि हो।'
राजनीतिक क्रान्ति पूरा भएको तर अबको बाँकी काम सामाजिक आर्थिक रुपान्तरण भएको उनको धारणा थियो। 'नेपालमा राष्ट्रिय पुँजी निर्माण गर्न अझै ४०–५० वर्ष लाग्छ,' उनले भने, 'नेपालको भूगोल र जातीय प्रथाले पनि यहाँको विकास अन्यत्रको भन्दा फरक हुन्छ।'
एमाओवादी र एमालेले फरक ठाउँमा झण्डा झुन्ड्याउनुभन्दा एकीकरणको बाटोमा जानुपर्नेमा भुसालले जोड दिए। 'हेटौंडा महाधिवेशनको दस्तावेज हेर्ने हो भने एमाओवादी र एमाले फरक ठाउँमा बस्नु पर्ने देखिँदैन,' भुसालले भने, 'मार्क्सवादप्रति इमानदारिता राख्ने हो भने एमाले र एमाओवादी एकीकृत हुनु पर्छ।'
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक क्रान्तिले व्यवस्था परिवर्तन गर्न सके पनि संस्कार परिवर्तन गर्न नसकेको बताए। राजनीतिले पनि पुँजीको निर्माण गर्न सक्ने उनको भनाइ थियो। 'हामी सधैं वादमा अल्झेर मात्र हुँदैन,' उनले भने, 'विकासका अवधारणा पछ्याउन जरुरी छ।' असल राजनीतिक संस्कार निर्माण गर्न सके मात्र पुँजीको विकास हुन्छ।'