काठमाडौं– दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओली लगायत नव निर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्। भेटघाटका लागि बौद्ध स्थित होटल हायात पुगेको एमाले टोलीलाई भारतीय प्रधानमन्त्रीले बधाई दिएको एमाले विदेश विभाग सदस्य राजन भट्टाराईले बताए।
भेटका अवसरमा मोदीले नेपालले गर्ने हरेक निर्णमा भारतको साथ र सहयोग रहने विश्वास दिलाएका थिए। 'संविधान र नेपालको स्थायियत्व बारे उहाँ आशावादी हुनुहुन्छ', भेटपछि संवाददातहरुसँग कुरा गर्दै भट्टराईले भने, 'अब नेपालको आर्थिक उन्नति गर्नर्पर्छ भन्ने कुरामा उहाँको जोड रह्यो।'दुई देशबीचको सम्बन्धलाई सधैँ सौहार्दपूर्ण बनाइराख्न अब संयुक्त आयोगलाई सक्रिय पारिने मोदीले बताएका थिए।
एमाले नेताहरुले उर्जा व्यापार सम्झौता (पिटीए) मामिलामा आफ्नो दल सकारात्मक रहेको भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। साथै नेपालमा समयमै संविधान निर्माण हुनेमा उनीहरुले मोदीलाई आश्वस्त पारेका थिए।