काठमाडौं- एकीकृत नेकपा माओवादीको स्थायी समितिले सोमबार नेता बाबुराम भट्टराई पक्षधर दुई नेतालाई कारबाही गरेपछि पार्टीको विवाद पेचिलो बनेको छ ।
केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गर्ने स्थायी समितिको निर्णयले औपचारिक रूपमा फुट बिजारोपण गरेको भट्टराई पक्षधर नेताले टिप्पणी गरेका छन्।
नयाँ शक्तिबारे बहस गरिरहेका नेता भट्टराईमाथि पार्टी विभाजन गर्न खोजेको आरोप लागिरहेका बेला उनी पक्षधर केन्द्रीय सदस्य श्रेष्ठ र यादवलाई स्थायी समितिले पार्टी अनुशासन तोडेको भन्दै कारबाही गरेको थियो। उनीहरूलाई वैशाखमा जिल्ला सम्मेलन भइसकेको धनुषामा समानान्तर जिल्ला समिति गठन गरेको आरोप लगाइएको छ।
एमाओवादीमा विवाद समाधान गर्न राजनीतिक बहस समिति र विवाद समाधान समिति गठन गरिए पनि तिनले परिणाममुखी काम गर्न सकेका छैनन्। बहस समितिमा अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र महासचिव कृष्णबहादुर महरा छन्। विवाद समाधान समितिमा सचिव वर्षमान पुन र स्थायी समिति सदस्य देवेन्द्र पौडेल र विश्वभक्त दुलाल छन्।
विवादित विषयमा समितिलाई जिम्मा नदिई र सम्बन्धित व्यक्तिको रायसमेत नलिई कारबाहीमा उत्रिनु गलत हुने भट्टराईपक्षीय नेता देवेन्द्र पौडेलले बताए। 'चेतावनी र स्पष्टीकरणसमेत नलिई गरिएको कारबाही पूर्वाग्रहपूर्ण छ,' पौडेलले भने, 'वैचारिक समस्यालाई वैचारिक रूपमा हल गनुपर्छ। कारबाहीले समस्या हल हुँदैन।'
एमाओवादी सचिव गिरिराजमणि पोखरेलले पार्टीको विधि सबैले मान्नुपर्ने बताए। 'यसले फुटको संकेत गर्दैन, जतिसक्दो चाँडो केन्द्रीय समिति बैठक बोलाएर विवादित विषयमा समाधान खोज्नुपर्छ, हामी त्यसैको तयारीमा छौं,' उनले भने। उनले केन्द्रीय समिति बैठक भदौ पहिलो साता हुन सक्ने बताए। कारबाही सांकेतिक खालको मात्रै भएको उनको भनाइ छ।
अन्य जिल्लामा समानान्तर समिति गठन भए पनि धनुषाको प्रकृति फरक भएको उनले बताए। 'धनुषामा केन्द्रीय नेता नै जानु अलि गलत भयो भन्ने हो,' उनले भने। पार्टीभित्र देखिएको विवाद छलफल र बहसबाटै समाधान गरिने सचिव पोखरेलले बताए।
कारबाहीमा परेका नेता श्रेष्ठले फेसबुकमा प्रतिक्रिया जनाउँदै 'कारबाही जंगबहादुर शैली' को भएको लेखेका छन्। 'भजनमण्डलीको भक्त बन्न अस्वीकार गरेवापत जंगबहादुरको शैलीमा हामीमाथि गरिएको कारबाहीले पार्टीलाई एकताबद्व र रूपान्तरण होइन, विखण्डन र विघटनतिर लैजान्छ, सबैलाई चेतना भया,' उनले लेखेका छन्।
अर्का नेता यादवले कारबाहीको औचित्य नभएको बताए। 'विधानविपरीत काम गरेको भए कारबाही हुने पक्षलाई एकपटक स्पष्टीकरण लिनुपर्छ कि पदैन?' उनले भने, 'स्पष्टीकरणसमेत नलिई कारबाही गर्ने कुन विधानमा छ?' कारबाही पूर्वाग्रह र मनोगत भावनाको हद भएको उनले बताए।
अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बसेको एमाओवादी स्थायी समिति बैठकले श्रेष्ठलाई तीन महिना र यादवलाई एक महिना केन्द्रीय समितिबाट निलम्बन गर्ने निर्णय गरेको थियो। भट्टराई प्रधानमन्त्री हुँदा श्रेष्ठ प्रमुख स्वकीय सचिव र यादव प्रेस सल्लाहकार थिए।
एमाओवादी सचिव एवं विवाद समाधान समितिका संयोजक वर्षमान पुनले समस्यालाई छलफलबाटै व्यवस्थापन गर्ने बताएका छन्।