डडेल्धुरा– एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले पार्टीमा सामानान्तर कमिटी बनाउनेहरू सच्चिएर नआए कारबाही नरोकिने बताएका छन्। 'सच्चिएर नआए बाबुराम भट्टराईलाई पनि पार्टीविधान अनुसार कारबाही हुन्छ,' पार्टी प्रशिक्षणका क्रममा डडेल्धुरा आएका उनले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, 'पार्टीलाई अलगथलग गर्नेलाई कारबाही हुन्छ।'
पार्टीको विधानविपरीत काम गर्नेलाई कारबाही गरिएको दाबी गर्दै सचिव पुनले सच्चिएर नआए कारबाही पुनरावलोकन नहुने बताए। एमालेलेे अहिले आएर राष्ट्रपतिलाई अनुमोदनको माग गर्नु संविधान निर्माणमा अवरोध सिर्जना गर्ने नियत भएको नेता पुनको आरोप छ।
सचिव पुनले २६ सभासद्को मनोनयन हुन नसक्नु, व्यवस्थापिकामा विभिन्न समितिका संयोजक चयन नहुनु सरकारको असफलता भएको बताए। नेता पुनले मुलुकमा सरकारविहीनताको अवस्था सिर्जना भएको उनको आरोप थियो। 'अहिले सबै दल मिलेर संविधान निर्माण हुन्छ,' उनले भने, 'देशमा १० देखि ११ प्रदेश मात्रै बन्ने लगभग सहमति भएको छ।'