काठमाडौं-नेकपा (एमाले) को मंगलबारबाट हुने दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन, विभाग तथा भूगोलका कमिटीमा इन्चार्जको जिम्मेवारी निर्धारण गर्ने भएको छ। बैठकको निर्णयसँग नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पनि पार्टी सञ्चालनको परीक्षा सुरु हुनेछ।
एमाले सचिव योगेश भट्टराईले आगामी बैठकमा महŒवपूर्ण विषयमाथि छलफल हुने भएकाले दोस्रो बैठकले अबका पाँच वर्ष पार्टी कसरी सञ्चालन हुन्छ भन्ने संकेत गर्ने बताए। 'पार्टी सहमतिका आधारमा अघि बढ्छ कि संख्याको हिसाबमा भन्ने कुरा अध्यक्षबाट कार्य विभाजनसहितको विषयमा आउने प्रस्तावले निर्धारण गर्नेछ,' उनले भने।
केन्द्रीय सदस्य पशुपति चौलागार्इंले पनि पहिले पार्टीको कुनै पनि कमिटीको प्रमुख नभएका ओलीका लागि पार्टी अध्यक्षको हैसियतमा चुनौतीको समय सुरु भएको बताए। 'कस–कसलाई स्थायी कमिटीमा ल्याउनेछन् भन्ने कुराले पनि ओलीको कार्यशैली झल्किनेछ,' उनले भने।
हाल रहेका १५ पदाधिकारीमा वरिष्ठ नेता झलनाथ खनाललाई स्वतन्त्र राख्दा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षको संख्या सात–सात छ। अध्यक्षको मत कुनै पनि विषयमा मत बराबरी भएको अवस्थामा मात्रै निर्णायक हुने व्यवस्था छ।
दुई केन्द्रीय कमिटीको बैठकबीचमा महŒवपूर्ण कमिटीमा अल्पमतले ओलीलाई आफूले चाहेको जस्तो निर्णय गराउन समस्या उत्पन्न हुन सक्ने देखिन्छ। अहिलेको विधानमा रहेको व्यवस्थाअनुसार केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटीको आकार हुनेछ। १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीअनुसार ५३ सदस्यीय पोलिटब्युरो र १८ सदस्यीय स्थायी कमिटी हुनेछ।
पूर्वप्रधानमन्त्री तथा नेता नेपाललाई स्थायी कमिटीमा लैजाने निश्चित जस्तै छ। नेता नेपाललाई स्थायी कमिटीमा नियुक्त गरेपछि बाँकी दुई स्थानका लागि कसलाई नियुक्त गर्ने भन्नेमा ओलीलाई चुनौती हुनेछ।
'अहिलेसम्मको कुराकानीमा उपमहासचिवमा पराजित शंकर पोखरेललाई ल्याउने संकेत देखाएका छन्,' एक नेताले भने, 'पोखरेलको प्रस्ताव आए नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई स्थायी कमिटीमा लैजान जोड गर्ने देखिन्छ।'
ओलीमाथि स्थायी कमिटी समावेशी बनाउनुपर्ने दबाब पनि उत्तिकै छ। 'दलित र मधेसी सामुदायको प्रतिनिधित्व हुनुपर्ने जोड छ,' ती नेताले भने, 'पदाधिकारीमा उठाइएका मधेसी नेता सबै पराजित भएपछि स्थायी कमिटीमा लैजानुपर्ने दबाब ओलीमाथि परेको हो।' ओली छविलाल विश्वकर्मालाई पनि स्थायी कमिटीमा ल्याउने पक्षमा छन्।
पोलिटब्युरोमा पनि संख्याका हिसाबले ओलीलाई समस्या पर्नेछ। विधानमा व्यवस्था भएअनुसार आगामी निर्वाचनमा बहुमतको पार्टी बनाउने र सबैलाई उचित जिम्मेवारी दिने घोषणा गरेका ओलीका लागि महाधिवेशनमा समूहगत निर्वाचन लडेका समूहलाई एकताबद्ध बनाउने र संविधान निर्माणमा पार्टीको एकीकृत धारणाका साथ जाने चुनौती छ। महाधिवेशनले प्रमुख कार्यभार राजनीतिबाट आर्थिक सामाजिक रूपान्तरणतर्फ सारेकाले त्यसअनुसारको संगठनात्मक संरचना निर्माण गर्नुपर्ने पनि छ।
महाधिवेशनको समीक्षा हार्दिकतापूर्वक हुन्छ कि प्रतिष्ठाको विषय बन्छ भन्ने कुराले पनि बैठक अघि बढ्ने कुरालाई निर्धारण गर्नेछ। नेता नेपालले यसअघि नै मतपत्र चलाखीपूर्ण रूपमा तयार पार्दा आफ्नो पक्षका कम्तीमा ३२ जना केन्द्रीय सदस्यमा निर्वाचित हुन नसकेको भनेर यस विषयलाई बैठकमा लैजाने संकेत गरिसकेका छन्। त्यसले पनि समीक्षालाई पेचिलो बनाउनेछ।