काठमाडौं– एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले २६ सभासदको मनोनयन आवश्यक नभएको बताएका छन्।
'संविधानका विवादित विषयमा छलफल गर्ने समय तालिकाअनुसार अब सात दिन मात्र बाँकी छ,' ललितपुर हरिसिद्धिस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'विज्ञहरूको आवश्यकता त्यतिबेला हो, अब समय सकिने बेला सभासद मनोनयन गर्नुको औचित्य छैन।' यो आफ्नो व्यक्तिगत विचार भएको उनले प्रस्ट पारे।
सभासद मनोनयन आवश्यक नरहेको सन्दर्भमा उनको अर्को तर्क थियो, 'पार्टीहरूलाई भागबन्डा लगाएर सभासद मनोनयन गरिनु पनि आवश्यक छैन।' यस विषयमा पार्टी र मोर्चामा आफूले प्रस्ताव लगेको उनले सुनाए।