काठमाडौ- सभासद मनोनयनको विषयमा नेकपा एमालेमा असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले मनोनयनमा एकलौटी गरेको भन्दै माधव नेपाल पक्ष असन्तुष्ट बनेका हुन्।
पदाधिकारी बैठकमा नाम पेश गरेर मनोनयन गर्ने निर्णय भएको भए पनि त्यसो नभएको भन्दै एमाले उप-महासचिव घनश्याम भुसालले असन्तुष्टी जनाए।
सभासद मात्र होइन अन्य नियुक्तिको क्षेत्रमा पनि गुटलाई टेवा दिने काम भइरहेको उनले बताए। 'यसले पार्टीलाई ठिक ठाउँमा पुर्याउँदैन' भुसालले भने। एमाले केन्द्रीय सदस्य पुशपति चौलागाईले सभासद नियुक्तिको विषयमा पार्टीमा कुरा उठाउने बताए। 'गुटलाई प्रोत्साहन दिने काम भइरहेको छ' उनले भने 'यसबारे केन्द्रीय समितिमा छलफल हुन्छ।'