काठमाडौं- संविधानका बाँकी विवादित विषयमा दिनरात छलफल गरेर भए पनि भदौ २१ भित्र सहमतिमा पुग्ने गरी संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पहल थालेको छ।
समिति सभापति बाबुराम भट्टराईले कार्यतालिका संशोधन गर्न नहुने भन्दै निर्धारित समयभित्रै सहमति गर्न पहल गरिरहेको बताएका छन्। उपसमितिले सहमति गरेको विषयमा समितिमा देखिएको विवाद पनि अन्त्य गर्दै बाँकी विषयमा सहमति खोज्न दिनरात छलफल गर्न लागिएको उनले बताए।
संविधानसभाबाहिर रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चासँग मंगलबार वार्ता हुने भएको छ। मंगलबार तीन दलका शीर्ष नेताको बैठक, संवाद समितिको पूर्ण बैठक र वैद्य नेतृत्वको मोर्चासँग छुट्टाछुट्टै छलफल हुँदैछ।
उपसमितिमा भएका सहमति पनि समितिको पूर्ण बैठकमा उल्टिन थालेपछि सभापति भट्टराईले सोमबार बसेको बैठकमा अब सहमतिका लागि थोरै मात्र समय बाँकी रहेकाले व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक धारणा मात्र राख्न सदस्यहरूलाई निर्देशन दिएका थिए।
'अहिले शीर्ष तहमा छलफल भइरहेको छ,' संवाद समितिका सभापति भट्टराईले नागरिकसँग भने, 'हामी द्विपक्षीय, त्रिपक्षीय कुराकानी गरिरहेका छौं। हामी निरन्तर रूपमा दुई दिन बस्यांै भने सबै विषयमा सहमति जुटाउन गाह्रो देख्दिनँ।'
उनले अन्तिममा नै सहमति हुने परम्परा रहेकाले कथंकदाचित तोकिएको समयमा सहमति कायम हुन नसके फेरि कार्यतालिका संशोधन गरेर नहुने तर्क गरे। 'मुख्य सहमति हुने अन्तिम बेलामा नै हो,' भट्टराईले भने, 'अघिल्लो संविधानसभामा जेठ १४ गते आउन लाग्दासम्म प्रयत्न गरेकै हौं। त्यतिखेर मस्यौदासम्म तयार गर्न बाँकी थियो। अहिले हामी भदौ २१ लाई लिएर आत्तिनुहुँदैन। त्यो मिति संविधान जारी गर्ने होइन, यसले सहमति मात्रै निर्माण गर्ने हो। सहमति त अन्तिम एक घन्टामा बन्छ।'
भट्टराईले माघ ८ गतेलाई जेठ १४ को रूपमा लिन पनि सबैसँग आग्रह गरे। 'अहिलेको अवस्थामा भदौ २१ उतिबेलाको जेठ १४ होइन,' भट्टराईले भने, 'उतिबेलाको जेठ १४ भनेको अहिलेको माघ ८ हो। भदौ २१ भित्र भएका सहमतिका आधारमा मस्यौदा तयार हुन्छ। र, त्यो मस्यौदा छलफलमा जान्छ। छलफलपछि मात्रै फेरि मस्यौदामा सहमति जुटाउने हो।'
संघीयतामा जाँदा कति प्रदेश कायम गर्ने, शासन प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने विषयमा दलहरूबीच गम्भीर मतभेद कायमै छ।
संवाद समिति सभापति भट्टराईले भने तत्कालीन संविधानसभाको समितिले तयार पारेको १४ र आयोगले दिएको १० प्रदेशको प्रस्तावकै वरिपरि सहमति हुने बताए। 'त्यही १० र १४ प्रदेशलाई आधार बनाएर त्यसबीचमा सहमति खोज्नुपर्छ,' भट्टराईको जोड थियो।
तर, स्रोतअनुसार ९ प्रदेशमा सहमति कायम गर्ने प्रयास शीर्ष तहमा गरिएको छ। 'कांग्रेस–एमालेले भनेको ७ प्रदेश पनि होइन,' स्रोतले भन्यो, 'एमाओवादीले भनेजस्तो ११ या १४ पनि हुँदैन। त्यसको बीचबाट निकास निकाल्दा ९ प्रदेशमा जान सकिने गरी छलफल भइरहेको छ। सहमति भने कायम हुन सकेको छैन।'
शीर्ष नेताहरूबीच भएको छलफलका विषय पनि बाहिर ल्याइएको छैन। वार्ता गर्न बाँकी रहेका दल सहमतिमा नआउलान् भनेर यसो गरिएको स्रोतले जनाएको छ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपालसँग भट्टराईले सोमबार पनि बेलुकासम्म छलफल गरेका थिए।
शासकीय स्वरूपका सवालमा दुई/तीन हिसाबले छलफल भइरहेको भट्टराईले जानकारी दिए। 'नेपाल जातीय, भौगोलिक र भाषिक हिसाबले विविधतायुक्त भएकाले समावेशी समानुपातिक प्रणालीलाई छाड्न सकिँदैन,' उनले भने, 'यसलाई प्रतिनिधित्व गर्ने प्रणाली हुनुपर्योल भन्ने छ। अर्कोे, सरकारको स्थिरता र स्थायित्व पनि हुनुपर्योि। र, तेस्रोचाहिँ कार्यकारी अधिकार बहुकेन्द्रमा हुनु हुँदैन, त्यस्तो भयो भने शक्ति केन्द्रमा टक्कर पैदा भएर अस्थिरता आउँछ भन्ने हो। छलफलका यही कुरालाई आधार बनाएर शासकीय स्वरूपमा सहमति खोज्ने प्रयत्न भइरहेको छ।'
शासन प्रणाली र राज्य पुनःसंरचनाबारे मिल्नासाथ बाँकी विषय मिल्दै जाने भट्टराईको तर्क छ।
संवाद समितिको बैठक भदौ २१ गतेसम्म निरन्तर राख्ने, आवश्यक परे दिनभर छलफल गर्ने जनाउँदै भट्टराईले समितिका सबै सदस्यलाई उपस्थित हुनुपर्ने, शीर्ष नेताले बढी ध्यान दिनुपर्ने, समितिमा व्यक्तिगतभन्दा पनि पार्टीको धारणा राख्नुपर्ने निर्देशन दिएका छन्।
संवैधानिक परिषद पाँच सदस्यीय
संवाद समितिको सोमबार बसेको बैठकमा तत्कालीन संवैधानिक समितिको प्रतिवेदनमा छलफल गरी उपसमितिले पठाएका विषयमा सहमति जुटेको छ।
बैठकमा संवैधानिक परिषद पाँच सदस्यीय बनाउने सहमति भएको छ। परिषद सदस्यमा कार्यकारी सरकार प्रमुख, प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, सभामुख र विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेकामध्येबाट समावेशिताका आधारमा एक महिला हुनैपर्ने व्यवस्था गरिएको समिति सभापति भट्टराईले जानकारी दिए।
राजदूत नियुक्ति पनि समावेशी र समानुपातिक आधारमा हुने, अर्को चुनाव भएर पहिलो बैठक नबसेसम्म व्यवस्थापिका निरन्तर कायम रहने सहमति भएको छ। 'अब नेपालमा व्यवस्थापिका संसदरहित अवस्था हुँदैन,' उनले भने, 'अर्को चुनाव भएर पहिलो बैठक नबसेसम्म कायम रहन्छ भन्ने व्यवस्था राखिएको छ।'
त्यसैगरी, संविधानको नाम 'नेपालको संविधान' राख्ने विषयमा पनि सहमति कायम भएको विवाद समाधान उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए।
राष्ट्रिय गान र निशाना छापका सम्बन्धमा पनि समितिमा निर्णय भएको छ। प्रदेशले निशाना छाप बनाउने कि नबनाउने भन्ने विवाद देखिएको थियो। त्यसमा राष्ट्रिय छापको गरिमा र भावनामा आँच नआउने गरी प्रदेशले निशाना छाप बनाउन सक्नेमा सहमति भएको छ। राष्ट्रिय गान अहिलेकैलाई निरन्तरता दिने सहमति भएको उनले जानकारी दिए।
संविधान संशोधनका केही विषय राज्यको पुनःसंरचना र शासकीय स्वरूपसँग जोडिएकाले तीसँगै टुंगो लगाउने पनि सहमति भएको छ। यस्तै, संविधान जारी भएपछि पनि संक्रमणकालीन अवस्था अर्को मन्त्रिपरिषद गठन नभएसम्म कायम रहने गरी सहमति भएको छ।
