काठमाडौं– नेकपा–माओवादीले माग गर्दै आएको राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलन अन्ततः भदौ ३१ गते हुने भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र नेकपा–माओवादीका नेता सम्मलित चार दलीय कार्यदलको आज बिहान बसेको बैठकले सम्मेलनको मिति टुंगो लगाएको हो।
'सम्मेलन भदौ ३१ गते बिहान ९ बजे संविधानसभा भवनको लोत्से हलमा हुने तय भएको छ,' नेकपा–माओवादीकी प्रवक्ता एवं कार्यदलकी सदस्य पम्फा भुसालले भनिन्। उनका अनुसार सम्मेलनमा संविधानसभामा रहेका दल र ३३ दलीय मोर्चा सहभागी हुनेछन्।
यसअघि बिहान चार दलीय शीर्ष नेताको बैठकमा सर्वपक्षीय सम्मेलन भदौ ३१ वा असोज १ गते गर्ने भन्ने विवाद भएको थियो। त्यसपछि विवाद टुंगो लगाउने जिम्मा कार्यदलले पाएको थियो।
सम्मेलनको कार्यविधि कार्यदलले भोलि टुंगो लगाउने भुसालले बताइन्। सम्मेलन सरकारले आयोजना गर्ने र अध्यक्षता प्रधानमन्त्रीले गर्ने विषयमा भने दलहरूबीच सहमति भइसकेको छ।