काठमाडौं-प्रमुख दलका शीर्ष नेता सम्मिलित राजनीतिक समितिको पहिलोपटक बोलाइएको बैठक नै संयोजकको व्यस्तताका कारण स्थगित भएको छ।
बुधबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुबीच एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा १५ सदस्यीय राजनीतिक समिति बनाउने सहमति भएको थियो।
दाहालले शनिबार बेलुका ४ बजे संविधानका विवादित विषयका विषयमा अनौपचारिक छलफल गर्न संसद सचिवालय सिँहदरबारमा बैठक बोलाएका थिए। तर, दाहाल मुस्ताङमा भएको एक महोत्सवको समापनका लागि गएपछि समयमा फर्किन नसक्दा बैठक स्थगित गरिएको थियो। कांग्रेस, एमाले, मधेसवादी दलका केही नेताहरु बैठकका लागि सिँहदरबारमा पुगिसकेका थिए।
एमाओवादी अध्यक्ष दाहालको सचिवालयबाट बैठक स्थगित हुने जानकारी आएपछि संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले अन्य दलका नेताहरुसहित पत्रकारलाई बैठक स्थगित भएको जानकारी गराएका थिए।
एमालेका प्रमुख सचेतक अग्नी खरेलले पनि शनिबार बोलाइएको राजनीतिक समितिको बैठक स्थगित भएको जानकारी गराए। उनले एमाओवादीका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले बैठक स्थगित भएको जानकारी दिए।
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सहयोग पुर्याकउन र राजनीतिक दलहरुबीच पारस्परिक समझदारी विकसित गर्न राजनीतिक समिति गठन गर्ने समझदारीसहित प्रमुख तीन राजनीतिक दलहरुबीच पाँचबुँदे सहमति भएको थियो। त्यसपछि राजनीतिक समितिको पहिलोपटक शनिबारका लागि वैठक बोलाइएको हो।
राजनीतिक समितिको बैठक स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताहरुले संविधान अन्तरवस्तुमा मधेसवादी तथा साना दलहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ८ वटा साना दलका सांसदहरुसँग संविधानका अन्तरवस्तुका विषयमा छलफल गरेका थिए।