काठमाडौं- प्रमुख राजनीतिक दलका नेताहरूले माघ ८ मा संविधान जारी गर्नका लागि एकअर्काे दललाई लचिलो हुन आग्रह गरेका छन्। नेकपा (एमाले) ले दसैं, तिहार, छठ, नेपाल संवत, ल्होसारको अवसरमा पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरूले आफ्नो दल पर्याप्त मात्रामा लचक भएको दाबी गर्दै अर्को पक्षलाई लचक हुन आग्रह गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेस र एमालेका नेताहरूले एकीकृत नेकपा (माओवादी) लचिलो हुनुपर्ने बताए भने माओवादीका नेताले पर्याप्त रूपमा लचिलो भइसकेको भन्दै त्यस्तै हुन सत्तारूढ दलका नेताहरूलाई आग्रह गरे। कार्यक्रममा सत्तारूढ र विपक्षी दलका नेताबीच लचिलो बन्ने विषयमा वाद प्रतिवाद चलेको थियो।
पूर्वप्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लचिलो बने संविधान बन्ने बताए। 'संविधान बन्छ कि बन्दैन भन्ने अन्तिम फैसला प्रचण्डले गर्ने हो,' नेपालले सञ्चारकर्मीसँग भने, 'उहाँ (दाहाल) को लचिलोपनाले संविधान बन्छ। हामीले पनि आवश्यक लचकता देखाउनुपर्छ।'
नजिकै बसेका पूर्व प्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले त्यही कुरा दोहोर्या्ए। कसैले भनेको जस्तो मात्रै नबन्ने भन्दै संविधानका विवादित विषयमा लेनदेन हुने बताए। 'कांग्रेसले भनेको जस्तो मात्रै पनि हुँदैन, एमालेले भनेको जस्तो मात्रै पनि हुँदैन। उहाँहरू (प्रचण्डतर्फ देखाउँदै) ले भनेको जस्तो मात्रै पनि हुँदैन,' देउवाले भने, 'त्यसैले केही न केही छाड्नुपर्योच, लचिलो हुनुपर्यो नि। कांग्रेस लचिलो भइसकेको छ, अब उहाँ (माओवादी) को पालो।'
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने आफ्नो पार्टी धेरै लचिलो भएको बताउँदै अब लचिलो हुने पालो कांग्रेस–एमालेको भएको बताए। 'सबैभन्दा लचिलो एकीकृत नेकपा माओवादी भएको छ। युद्धबाट शान्तिमा आउन, शान्ति प्रक्रियाबाट संविधानसभामा आउन, संविधानसभाबाट सेना समायोजन, हतियार व्यवस्थापनसहित सबैतिर लचकता देखाएकै छु,' दाहालले भने, 'अहिले पनि हाम्रो स्थानबाट लचकता अपनाएर सहमतिका संविधान बनाउने प्रयास गर्नेछौं। कांग्रेस र एमालेले लचकता देखाउनुपर्छ। हामी कसैले पनि अहंकार राख्नु हुँदैन।'
राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता महत्त्वपूर्ण विषयमा दलहरूबीच सहमति जुट्न सकेको छैन। सत्तारूढ कांग्रेस र एमालेभित्र प्रमुख विषयमा सानातिना मतभेद मात्रै छन् भने माओवादीसँग ठूलै मतभिन्नता छ।
एमाओवादी अध्यक्ष दाहाल बाहिरिएपछि मात्रै कार्यक्रममा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालाले जतिसक्दो प्रदेश निर्माणमा सहमति गर्नुपर्नेमा जोड दिए। '५ वा ६ प्रदेश बनाउँदा राम्रो हुन्छ। धेरै बनाउँदा आर्थिक रूपमा धान्न सक्दैनौं,' कोइरालाको भनाइ थियो, 'पूर्वाधार केही छैन। धेरै बनाउँदा भोलि कार्यकारीलाई कहाँ राख्ने, गभर्नर होला त्यसलाई कहाँ राख्ने, कसरी व्यवस्थित गर्ने?'
कोइरालाले सबै लचिलो बनेर निर्धारित समयमै सहमतिका साथ संविधान बन्नेमा आशावादी रहेको बताए। 'सबै लचिलो भएर प्रस्तुत हुुनुपर्छ। त्यसका लागि हामी अधिकतम रूपमा प्रयास गर्नेछौं, सञ्चारकर्मीसँग कोइरालाले भने, 'समस्याको समाधान नहुने होइन। त्यसका लागि विश्वासको वातावरण बन्नुपर्योी।'
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि वातावरण बनेको भन्दै नकारात्मक समाचार लेखेर माहौल नबिगार्न आग्रह पनि गरे। 'संविधान बन्दैन भनेर नकारात्मक प्रचार तपाईंहरू पनि नगर्नुहोस,' प्रधानमन्त्री कोइरालाले भने।
आयोजक भएको नाताले कुनै दल वा नेता प्रमुखको टिप्पणी नगर्ने भन्दै कार्यक्रममा एमाले अध्यक्ष ओलीले दलहरूबीच नीतिगत मतभिन्नताले संविधान निर्माण प्रभावित हुन नहुने बताए। 'मेरो निमन्त्रणमा जलपान समारोहमा आउनुभएको छ। उहाँ (दाहाल) र म दुइटा पार्टीका नेता हांै। उहाँ र मबीच केही विचारमा र कार्यक्रममा भिन्नता छ। तर, त्यसका आधारमा संविधान निर्माण गर्ने विषयमा भिन्नता हुनुहुँदैन,' ओलीले भने, 'एकरूपताका साथ अघि जानुपर्छ। सहमति प्राप्त गर्ने हाम्रो कोसिस छ। त्यो प्रयास अनवरत रूपमा जारी राख्छौं । र, माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्छ।'
सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री प्रकाशमान सिंह, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा लगायतका नेता चियापान कार्यक्रममा सहभागी थिए।
दसैँ र तिहारको छेको पारेर एमालेले प्रत्येक वर्ष चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ। शनिबार भएको चियापान कार्यक्रममा करिब १२ हजार सहभागी भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।