काठमाडौं-संविधानका विवादित विषयमा सहमति कायम गर्ने तीन प्रमुख दलका नेताको मंगलबारको प्रयास पनि निरर्थक भएको छ। काठमाडौंको गोकर्ण रिसोर्टमा बिहानैदेखि राति अबेरसम्म भएका अनौपचारिक र औपचारिक बैठकमा तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले पुरानै अडान दोहोर्या उँदा बैठक फलहीन भएको हो।
मंगलबार र बुधबार दुई दिन 'घनीभूत' र 'निर्णायक' छलफलमार्फत संविधानका विवाद सहमतिमा टुंग्याउने भन्दै छलफलमा जुटेका उनीहरुले सहमति नभए पनि दोस्रो दिन बुधबार औपचारिक सहमतिमा पुग्न सकिने आशा भने मारिसकेका छैनन्।
संविधानका मुख्य विवाद संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका प्रतिवेदनमा देखिएका विवादमा पहिलो दिन नेताहरुले द्विपक्षीय र बहुपक्षीय अनौपचारिक वार्तामै बढी समय बिताए।
बिहान ९ बजेदेखि नै छलफलका लागि जुटे पनि दिउँसो ३ बजेतिर मात्र ३ दलका ९ नेताको औपचारिक वार्ता सुरु भएको थियो। त्यो पनि आधा घन्टामै टुंगिएको थियो। दिनभर नै आन्तरिक र बहुपक्षीय छलफल भने जारी थियो। तीन दलका ६ नेताबीच विवादित विषयमा राति अबेरसम्म पनि वार्ता जारी थियो।
आधा घन्टाको औपचारिक छलफलपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएका थिए। बुधबार बिहान ९ बजे फेरि छलफल थाल्ने गरी उनीहरु रिसोर्टबाट बाहिरिएको स्रोतले जनायो।
प्रदेशको नाम र संख्यामै दिनभरको छलफल अलमलिएको थियो। 'बाहिर दिनभरि नै छलफल भयो भन्ने भयो,' छलफलमा सहभागी एक नेताले नागरिकसँग भने, 'तर औपचारिक बैठक दिउँसो ३ बजेपछि मात्र सुरु भयो र आधा घन्टामै सकियो। अब भोलि (बुधबार) बिहान ९ बजे औपचारिक बैठक बस्ने सहमति भएको छ।'
अनौपचारिक छलफलमा सहभागी कांग्रेस उपसभापति पौडेलका अनुसार प्रदेशको नाम र संख्यामा तीनै दलले पुरानै अडान दोहोर्या्एका थिए। औपचारिक छलफलमा भने कांग्रेस र एमालेको धारणा समान आएको उनले जानकारी दिए।
'हामीले ५ देखि ७ प्रदेशसम्म बनाऔं भन्ने धारणा राख्यौं,' पौडेलले नागरिकसँग भने, 'उहाँ (एमाओवादी) हरु १० प्रदेश नै बनाउनुपर्छ भन्नुहुन्छ। प्रदेशको नाम राख्ने अधिकार प्रदेश सभालाई नै दिनुपर्छ भन्ने हाम्रो अडान रह्यो, उहाँहरुले एकल पहिचानसहितकै नाममा सहमति गरौं भन्नुभयो। कुनै विषयमा पनि सहमति कायम भएन। हामी सहमतिनजिक पनि आएनौं, आफ्नो धारणा दोहोर्यारउने काम मात्रै भयो।'
पौडेलले कुनै एक वा दुई जातिका नाममा मात्र प्रदेशको नाम राख्दा अन्य समुदाय र जातिले दोस्रो तहको नागरिक भएको महसुस गर्ने भएकाले त्यसरी नाम राख्नै नसकिने अडान आफूहरुले राखेको बताए।
'लिम्बुवान/खम्बुवान/कोसी प्रदेश भन्ने नाम राख्दा त्यो प्रदेशमा रहने शेर्पाले हाम्रो पहिचान खोइ भनेर सोध्यो भने के जवाफ दिने?,' पौडेलको भनाइ थियो। प्रदेशको नाम राख्ने अधिकार प्रदेश सभालाई नै दिनेगरी सहमति गर्न आफूहरुले प्रस्ताव राखेको पौडेलले जनाए।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा एमाओवादी नेता तथा संवाद समितिका सभापति बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने राति अबेरसम्म रिसोर्टमै अनौपचारिक छलफलमा थिए।
एमाओवादीका नेता श्रेष्ठले विवादित विषयमा गम्भीर र व्यापक छलफल भए पनि अडान कसैको पनि परिवर्तन नभएको बताए। 'हामी दिनभर नै छलफलमा रह्यौं,' श्रेष्ठले नागरिकसँग भने, 'अडानहरुमा परिवर्तन भएको छैन। तर छलफल सकारात्मक रुपमा भएकाले निकास निस्कन सक्छ भन्नेमा छौं।' श्रेष्ठले पनि दिनभर अनौपचारिक नै छलफल भएको बताए।