काठमाडौं-न्यायालयमा भएको भ्रष्टाचार पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको स्वतन्त्र आयोगले हेर्ने व्यवस्था मिलाउन राजनीतिक दलका शीर्ष नेतालाई न्यायाधीशहरूले सुझाव दिएका छन्।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आइतबार न्याय प्रणालीबारे गरेको छलफलमा उनीहरूले न्यायाधीशले जवाफदेहिता इमान्दारीपूर्वक बहन नगरे, खराब आचरण वा कार्यक्षमता अभाव भए वा अनुशासन पालना नगरे छानबिन र अनुसन्धान गरी पदमुक्त गर्न वा अन्य आवश्यक सिफारिस गर्न न्यायिक जवाफदेहिता तथा अनुसन्धान आयोग गठन गर्न सुझाव दिएका हुन्।
प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसहित पाँच न्यायाधीशले संयुक्त रूपमा दिएको लिखित सुझावअनुसार न्यायाधीशहरूले गर्ने भ्रष्टाचार, अनुशासनात्मक एवम् विभागीय कारबाहीका लागि अनुसन्धान आयोगले सिफारिस र मुद्दा चलाउन सक्नेछ। आयोग भने पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा बन्नेछ। आयोगमा पूर्व प्रधानन्यायाधीशमध्येबाट नियुक्त एक र नियुक्त हुनुभन्दा पाँच वर्ष अघिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको स्वतन्त्र व्यक्तिमध्येबाट संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक सदस्य रहनेछन्।
यस्तै, उनीहरूले सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश पनि प्रदेश उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशबाट मात्रै नियुक्ति गर्न सुझाएका छन्। यस्तो व्यवस्था भए नेपाल बार एसोसिएसनका तर्फबाट लिइने कानुन व्यवसायीको ढोका भने बन्द हुनेछ।
न्याय परिषदमा कानुन व्यवसायीलाई गरिने नियुक्तिको व्यवस्था हटाउन पनि सुझाव दिइएको छ। सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त गर्दा वरिष्ठ कानुन व्यवसायी रहन सक्ने व्यवस्था छ भने परिषदमा पनि नेपाल बार र प्रधानमन्त्रीका तर्फबाट दुई जना कानुन व्यवसायीको प्रतिनिधित्व हुने व्यवस्था छ।
लिखित सुझावमा 'संघीय सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गए न्याय परिषद/आयोगको सिफारिसमा प्रधानन्यायाधीशले कुनै निश्चित अवधि तोकी प्रदेश उच्च अदालतका मुख्य न्यायाधीश वा न्यायाधीशहरूलाई काजमा खटाई संघीय सर्वोच्च अदालतमा काम लगाउन सक्ने' उल्लेख छ।
यस्तै, तीन तहको अदालत हुनुपर्ने न्यायधीशहरूको लिखित सुझावमा उल्लेख छ। न्यायाधीशहरुको नियुक्ति, सरुवा एवम् न्याय प्रशासनसम्बन्धी अन्य सिफारिस गर्न वा परामर्शका लागि गठित न्याय परिषदमा प्रधानन्यायाधीश पदेन अध्यक्ष रहने तथा सदस्यहरूमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दुई जना, नियुक्त हुनुभन्दा पाँच वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको स्वतन्त्र व्यक्तिमध्येबाट संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जना सदस्य राख्ने व्यवस्था गर्न न्यायाधीशहरूले सुझाव दिएका छन्। स्वतन्त्र व्यक्ति कुन क्षेत्रको भन्ने उल्लेख छैन।
तर, अहिले राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्रीले नियुक्त गर्ने एक र नेपाल बारको सिफारिसमा प्रधानन्यायाधीशले नियुक्त गर्ने एक गरी दुई जना अधिवक्ता रहने व्यवस्था छ।
छलफलमा नेताहरूले न्यायालयभित्र हुने गरेका अनियमितता र भ्रष्टाचारका विषयमा जिज्ञासा राखेका थिए। 'छलफलमा न्यायालयभित्रको अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न छुट्टै संयन्त्र निर्माण गर्न उपयुक्त हुन्छ भन्ने देखियो,' संवाद समितिका सभापति बाबुराम भट्टराईले छलफलपछि भने।
सिंहदरबारस्थित संवाद समितिको कार्यालयमा भएको छलफल चार घन्टासम्म चलेको थियो।
'क्षतिपूर्तिसहित पूर्ण समानुपातिक'
निर्वाचन आयोगले क्षतिपूर्तिसहितको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सुझाव दिएको छ।
संवाद समितिले गरेको छलफलमा निर्वाचन आयोगका प्रमुख तथा सदस्यहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मत खेर नजाने, मतदाताका लागि सहज र कम खर्चिलो हुने तर्क गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरल निर्वाचन प्रणाली र आर्थिक रूपमा पनि कम खर्चिलो, दल र मतदातालाई सजिलो हुने निर्वाचन प्रणाली अपनाउन सुझाव दिएको बताए। 'हामीले संविधानसभाका दुइटा चुनाव गर्यौंण, यसबाट केही उपलब्धि पनि हासिल गरिसकेका छौं,' उप्रेतीले पत्रकारसँग भने, 'महिला, आदिवासी, अन्य वर्ग र क्षेत्रको पनि प्रतिनिधित्व हुने गरी मतदाताको मत खेर नजाने खालको निर्वाचन प्रणाली आवश्यक छ।'
उनका अनुसार क्षतिपूर्तिसहितको समानुपातिक निर्वाचन प्रणालीमा दल र उम्मेदवारले संयुक्त मत प्राप्त गर्नेछन्। त्यसैका आधारमा दलले पाएको मतअनुसार प्रतिनिधित्व हुन नसके क्षतिपूर्तिसहित समानुपातिकतर्फबाट प्रतिनिधित्व गराइन्छ।
त्यसैगरी, समानुपातिक उम्मेदवारी दिँदा निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुसार क्रमसँगै प्रतिनिधित्व हुने व्यवस्था गर्न सुझाव दिइएको छ।
'एकमा पुरुष छ भने दुईमा महिला राखेर पहिले नै समानुपातिक र समावेशी बनाउन सकिन्छ,' उप्रेतीले भने, 'तलको माथि लैजान नपाइने र मतदाताले कुन उम्मेदवार विजयी भए भन्ने पहिले नै जान्न सक्ने व्यवस्था हुनुपर्यो । क्रमसंख्या पछि तल/माथि पार्न पाइँदैन।'
निर्वाचन आयोगले कम्तीमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्न सुझाव दिएको छ। थ्रेसहोल्डले नजिक विचार भएका दलहरू गठबन्धनमार्फत निर्वाचनमा जान सक्ने उप्रेतीले बताए।
संवैधानिक अदालत होइन, इजलास
दलहरूबीच संवैधानिक अदालत गठन गर्ने विषयमा सहमति भएर सर्वाेच्च र संवैधानिक अदालतको अधिकार क्षेत्रका विषयमा छलफल चलिरहेका बेला न्यायाधीशहरूले भने संवैधानिक अदालत गठन नगरी इजलास मात्रै बनाउन सुझाव दिएका छन्।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले आइतबार न्याय प्रणालीका सम्बन्धमा गरेको छलफलमा प्रधानन्यायधीशसहित पाँच न्यायाधीशले संवैधानिक इजलास मात्रै बनाउन लिखित सुझाव दिएका हुन्।
उनीहरूले संघीय ऐनसँग प्रादेशिक ऐन बाझिएको, संघ र प्रदेश, संघ र स्थानीय निकाय, एक प्रदेश र अर्को प्रदेश, प्रदेश र स्थानीय तह, एउटा इकाइ र अर्को स्थानीय इकाइबीच संविधानमा रहेको अधिकारको सूची सम्बन्धमा उठ्ने विवाद हेर्न संवैधानिक इजलास गठन गर्न सुझाव दिएका छन्। उक्त इजलासले संवैधानिक निकायबीच उत्पन्न हुने अधिकारक्षेत्रको विवाद, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, संघीय व्यवस्थापिका संसदका सदस्यको योग्यता र निर्वाचनसँग सम्बन्धित विवाद पनि हेर्नेछ।
विशेष संवैधानिक इजलासमा रहने न्यायाधीशहरू निश्चित अवधिका लागि विशेषज्ञताका आधारमा न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोक्ने र संघीय सर्वोच्च अदालतले यस्ता विवादको निरूपण बढीमा ६ महिनाभित्र गर्ने लिखित सुझावमा उल्लेख छ।