
काठमाडौं– संविधानका अन्तर्वस्तुमा साझा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा दलहरूले आ–आफ्नो अडान नछाडेकाले सहमति बन्न नसकेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।
'सबै दल आ–आफ्नै अडानमा रहे। विषयवस्तुमा सहमति हुन सकेन,' बैठकबाट बाहिरिएपछि पत्रकारसँग उनले भने, 'भोलि बिहान ९ बजेदेखि तीन दलका तीन शीर्ष नेता, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई सहभागी बैठक बालुवाटारमै बस्नेछ। त्यसले सबै विषयमा सहमतिको प्रयास गर्नेछ।'
यसैगरी भोलि नै १२ बजे संविधानसभा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूको बैठक बस्ने र सो बैठकमा सहमतिको प्रयास गरिने नेता श्रेष्ठले बताए। 'सो बैठकमा सहमति हुन सकेन भने कस्तो प्रक्रियाबाट अघि बढ्ने भन्ने कुरा त्यसले टुंगो लगाउनेछ,' उनले भने।
कांग्रेस नेता रामशरण महतले भने सहमतिको सम्भावना पूरै सकिएको बताएका छन्। ‘अब हामी आ–आफ्नो विचार लिएर हाउसमा जान्छौं,' पत्रकारहरुसँग उनले भने, ‘कांग्रेस र एमालेको मुद्दा र विचारमा समानता छ, हामी एउटै विचार लिएर हाउसमा जान्छौं। जे गर्छ हाउसले नै निर्णय गर्छ।'
भोलि बस्ने बैठकले अझै पनि सहमतिको प्रयास भने गर्ने उनले बताए। ‘तर अहिलेसम्मको स्थिति हेर्दा सहमतिको सम्भावना छैन,' महतले भने।
भोलि बस्ने बैठकले अझै पनि सहमतिको प्रयास भने गर्ने उनले बताए। ‘तर अहिलेसम्मको स्थिति हेर्दा सहमतिको सम्भावना छैन,' महतले भने।