काठमाडौं- संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै शनिबार दिनभरजसो बैठक र वार्ता भए। संविधान सभाले संविधानका विवादित विषयमा सहमति जुटाउने समय शनिबारबाटै सकिने भएकाले दलहरु दिनभरजसो बैठक र वार्तामा व्यस्त भए पनि परिणाम भने सधैंजस्तो एउटै आयो। सहमति भएन। तर, प्रयास भने जारी छ।
बिहान ९ बजे प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्ण सिटौलाको बैठक बस्यो। बैठकमा संविधानका विवादित विषयमा घनिभूत छलफल भयो। तर, परिणाम भने केही पनि आएन।
'सकेसम्म सबै विषयमा सहमति गर्ने तर सहमति भएन भने सहमतिकै आधारमा प्रक्रियामा जाने विषयमा छलफल भयो,' एमाओवादी अध्यक्ष दाहालले सञ्चारकर्मीसँग भने, 'भोलि (आइतबार) सबै दलले आफ्नो पोजिसनअनुसार सम्वाद समितिमा असहमतिका बुँदा पेस गर्ने छौं।'
करिब दुई घण्टा चलेको बैठकमा एमालेले बढीमा पाँच प्रदेशमा जान सकिने धारणा अघि सारेको थियो। 'सहमति हुन्छ भने एमाले चार प्रदेशबाट पाँच प्रदेशमा जान तयार छ,' अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाओवादी अध्यक्ष दाहालले भने, ''उहाँहरुले संघीयताजस्तो विषयलाई गम्भिरतापूर्वक लिनु भएको जस्तो लागेन।'
सभामुखको कार्यकक्षमा भएको बैठकमा सभामुख नेम्वाङले भने दलहरुले यसअघिका बैठकमा आफूसँग दुई घण्टामा सहमति गर्छु भनेको स्मरण गर्दै सहमति हुन केले रोक्यो भन्दै प्रश्न गरेका थिए। प्रधानमन्त्रीले भने जसरी पनि सहमति गर्नुपर्ने बताए पनि कुनै ठोष प्रस्ताव भने पेस नगरेको बैठकमा सहभागी नेताहरुले बताए।
बिहानको बैठकमा कुनै सहमति नभएपछि लगत्तै संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय बैठक बसेको थियो। बैठकमा दलहरुले आङ्खनो एजेन्डा राख्दै बैठकस्थलबाट बाहिरिएका थिए। सो बैठकमा प्रधानमन्त्री, एमाले अध्यक्ष र एमाओवादी अध्यक्ष भने उपस्थित भएनन्। करिब डेढ घण्टा चलेको बैठकमा नेताहरुले सबै विषयमा सहमति सम्भव नभएको निष्कर्ष निकाल्दै प्रक्रियामा जाँदा पनि सहमतिबाटै जानुपर्ने धारणा राखेका थिए।
'अब सहमति हुने सम्भावना देखिएन,' बैठकपछि एमाओवादी नेता कृष्णबहादुर महराले भने, 'प्रक्रियामा जाँदा पनि सहमतिबाटै जानुपर्छ भन्ने धारणा आएका छन।'
सर्वदलीय बैठक सम्पन्न भएलगत्तै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बसेको थियो। सो बैठकमा पनि नेताहरु आफ्नो अडानबाट टसमस भएनन्।
सर्वदलीय बैठक सम्पन्न भएलगत्तै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बसेको थियो। सो बैठकमा पनि नेताहरु आफ्नो अडानबाट टसमस भएनन्।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले करिब दस मिनेट निकै भावुक भनाइ राखेका थिए। दाहालले एमालेको चर्को आलोचना गर्दै संघीयताको मर्म नमर्ने गरी संख्याको विषयमा सोच्न सकिने बताएका थिए। दाहालले बिहान बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले एमालेको अडान चार प्रदेश भए पनि सहमति हुन्छ भने पाँच प्रदेश दिन तयार रहेको बताएको जनाए। 'केपी ओलीजी पाँच प्रदेश दिन्छु भन्नुहुन्छ,' दाहालले भने, 'यता माधवजी (माधव नेपाल) संघीयता बाध्यताले स्वीकार गरेको हो, संघीयतामा नगए के हुन्छ भन्नुहुन्छ। यस्तो अवस्थामा एमालेको आधिकारिक धारणा कसरी बुझ्ने?'
आफूहरु संघीयताको मुल मर्म नमर्ने गरी प्रदेशको संख्यामा लचत हुन तयार रहेको बताए। निकै भावुक हुँदै दाहालले विगत आठ-दश वर्षदेखि सहयात्रीका रुपमा रहेका दलहरुबीच समहमति नभए मुलुकले अर्कै मोड लिनसक्ने बताएका थिए। सहमतिका लागि भन्दै आफूहरुले लचकता अपनाउँदासमेत सहमति बन्न नसकेको दाहालको गुनासो थियो।
उनले सहमतिकै लागि एमाओवादीले कार्यकारी राष्ट्रपतिबाट कार्यकारी प्रधानमन्त्री स्वीकार गरेको उल्लेख गर्दै दाहालले मिश्रित निर्वाचन प्रणाली अपनाउनुपर्ने बताए। उनले माघ ८ को कार्यतालिकामा कुनै असर नपर्ने गरी आधारभूत विषयमा सहमति खोज्नुपर्ने बताए।
बैठकले सबै दलले आफ्नो असहमतिका बुँदा लिखितरुपमा पेस गर्न सबै दललाई आग्रह गरेको छ। भोलि (आइतबार) नै समितिले आफ्नो प्रतिवेदन संविधान सभा अध्यक्षलाई बुझाउनु पर्नेछ। संविधान सभाले जारी गरेको कार्यतालिकाअनुसार सम्वाद समितिले पहिलो प्रतिवेदन भदौ २१ भित्र संविधान सभामा पेस गरिसक्नुपर्ने थियो। तोकिएको समयभित्र प्रतिवेदन बुझाउन असफल रहेको समितिको यसअघि नै तीन पटकसम्म म्याद थप भइसकेको छ।