काठमाडौं– अख्तियारको निर्देशन नमान्न व्यवस्थापिका संसदअर्न्तगतको अर्थसमितिले आफ्नो क्षेत्राधिकारबाहिर गएर निर्देशन दिएको अख्तियार प्रवक्ताले जनाएका छन्। अर्थसमितिको शुक्रबार बसेको बैठकले काबेली 'ए'लगायत एक दर्जनभन्दा बढी जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न निर्देशन दिँदा अख्तियारले क्षेत्राधिकार नाघेको ठहर गर्दै सो निर्देशन कार्यान्वयन नगर्न–नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।
आफ्नो निर्णयको बचाउ गर्दै अख्तियार प्रवक्ता श्रीधर सापकोटाले विद्युत ऐन तथा विद्युत नियमावली अनुसार तोकिएको म्यादभित्र पिपिए गरिसक्नुपर्ने अवस्थामा काम सम्पन्न नभएपछि लाइसेन्स खारेज गर्न निर्देशन दिएको जनाए।
काबेली ए जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्रमा ०७१ साल भदौ २० गतेसम्म पिपिए गरिसक्नुपर्ने उल्लेख भए पनि सो समयभित्र लगानीकर्ताले पिपिए नगरेका कारण लाइसेन्स खारेज गर्न निर्देशन दिएको उनले बताए। 'आयोगले गर्ने सबै काम कानुनी आधारमा मात्रै हुन्छन्,' अख्तियार प्रवक्ता सापकोटाले शनिबार नागरिकन्युजसँग भने, 'तोकिएको मितिका काम पूरा नभए, यस्ता आयोजका स्वतः रद्द हुने कानुनी प्रावधान छ।'
अख्तियारको निर्देशन कम्पनीका लागि बाध्यकारीसमेत भएको उनको दाबी छ। सर्तबमोजिम काम नभएको अवस्थामा सम्झौता स्वतः रद्द हुने भएकाले ऊर्जा मन्त्रालयले अख्तियारको निर्देशनको पालना गर्नुपर्ने उनको तर्क छ। अख्तियारको निर्देशन कार्यान्वयन नगर्न निर्देशन दिनसक्ने कानुनी आधार संसदको अर्थसमितिलाई नभएको सापकोटाले दाबी गरे।
'यसबारे आयोगलाई कुनै औपचारिक जानकारी आएको छैन,' उनले भने, 'सञ्चारमाध्यमबाट थाहा पाएको जानकारी अनुसार समितिले आफ्नो कार्यक्षेत्रबाहिर गएर निर्देशन दिने काम गरेको छ।'
समितिको निर्देशन पालना गर्न सरकार बाध्यकारी नहुने उनको तर्क छ। अर्थ समितिले शुक्रबार काबेली 'ए'लगायत १३ जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न अख्तियारले दिएको निर्देशन क्षेत्राधिकार मिचेर आएको ठहर गर्दै त्यसलाई नमान्न सरकारलाई निर्देशन दिएको थियो।
यसैबीच, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने समितिले आफ्नो क्षेत्राधिकार नाघ्यो भन्नु गलत भएको बताए। उनका अनुसार समितिको नियामावालीको ११० र नियमको १२७ नम्बरमा सरकारका सबै निकायलाई बोलाउन सक्ने स्पष्ट व्यवस्था छ। 'समितिले चाह्यो भने मुलुकका सबै निकायका कार्यकारी प्रमुखलाई बोलाउन सक्छ,' शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, 'प्रधानन्यायाधीशबाहेक सबै संवैधानिक निकायका प्रमुखलाई बोलाउन सक्छौं।'
अख्तियारको निर्देशनले ६ सय मेघावाट विद्युत् उत्पादनलाई असर पारेकाले त्यसलाई कम गरेर लोडसेडिङबाट आक्रान्त मुलुकलाई बचाउन अख्तियार प्रमुखलाई बोलाएको उनले स्पष्ट पारे। 'ड्राईभर, खरिदार र पियनलाई कारबाही गरेर भ्रष्टाचार न्यूनीकरण हुँदैन,' उनले भने, 'अख्तियारले आतंक मच्यायो। मन्त्रालयले गर्ने काम अख्तियारले गर्न खोज्यो।'