काठमाडौं–संविधानका विवादित विषयमा सत्तारुढ दल कांग्रेस–एमालेलगायतका दलले पेश गरेको प्रस्तावको सत्तापक्षका सभासदले नै विरोध गरेका छन्। मंगलवारबसेको संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा बोल्ने सत्तारुढ दलका सभासदले प्रस्तावको विरोध गरेका हुन्।
बैठकमा एमाले सभासद केशव बडालले कांग्रेस–एमालेले ल्याएको साझा अवधारणामा केही संशोधन गरी सहमतिको प्रयास गर्नुपर्ने बताए। उनले अन्तरिम संविधान, विभिन्न समयमा विभिन्न पक्षसँग भएका सहमतिमा समानुपातिक समावेशी सिद्धान्त अपनाउने सहमति गरेको उल्लेख गर्दै साझा प्रस्तावमा संसदको तल्लो सदनमा प्रत्यक्ष निर्वाचन प्रणालि अपनाउने विषयले सहमतिको उल्लघंन हुने टिप्पणी गरे। सबै वर्ग र समुदायको प्रतिनिधित्वका लागि पनि मिश्रित निर्वाचन प्रणाली अपनाउनुपर्ने उनको भनाई थियो। 'अहिलेको प्रस्तावमा केही कुरा सुधार गर्न आवश्यक छ, बैठकमा बडालको भनाई उद्धृत गर्दै एक सदस्यले भने,' विशेष गरेर निर्वाचन प्रणालिका विषयमा अहिलेको प्रस्तावलाई संशोधन गरेर सबैको प्रतिनिधित्व हुने गरी सबैलाई मान्य हुने मिश्रित निर्वाचन प्रणालि अपनाउनुपर्छ।'
एमाले उपाध्यक्ष विद्या भण्डारीले सहमतिबाटै संविधान जारी गर्नुपर्ने उल्लेख गर्दै अहिले पेश भएको प्रस्ताव अन्तिम विकल्प नभएको बताइन्। 'कसेसम्म सहमतिबाटै संविधान जारी गर्नुपर्छ,' भण्डारीले भनिन्, ' यदि केही गर्दापनि सहमति नभएमात्र प्रक्रियामा जानुपर्छ।' भण्डारीले निर्वाचन प्रणालिका विषयमा प्रस्ताव संशोधन गर्नुपर्ने बताइन्।
कांग्रेस सभासद अमरेशकुमार सिंहले सहमतिको विकल्प नभएको भन्दै संविधान जारी गर्नुपर्ने अडान राखेका थिए। उनले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, मधेस आन्दोलन लगायका उपलब्धीलाई रक्षा गर्न सहयात्री दलहरुबीच सहमति हुनुपर्ने बताए। 'अहिले कसैले कसैलाई पेलेर जानेस्थिति छैन,उनले भने, ' मधेस र मधेसीलाई कमजोर नठानियोस।'
बैठकमा बोल्ने अधिकांश सदस्यले सहमतिमाबाट संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए।
अमरेशकुमार सिंहलाई कुमार खड्काको कडा जवाफ
गत १६ गते बसेको समितिको बैठकमा कांग्रेस सभासद अमरेशकुमार सिंहले नेपाललाई सहयोग गर्ने दातृ निकाय तथा सरोकारवालासँगको भावनासमेत समेटेर संविधान बनाउनुपर्ने बताएका थिए। उनले संविधान निर्माणका लागि सहयोग गर्ने मुलुक तथा सरोकारवालको भावनाको प्रतिनिधित्व नगरी संविधान बनाए दिगो नहुने अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्तिको अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले विरोध गरेका छन्। मंगलवारको बैठकमा सभासद खड्काले नेपाल र नेपालीको भाग्यको फैशला गर्ने संविधानभसाबाट संविधान बनाउने कार्यमा विदेशी दातृ निकायको भावनालाईसमेत समेट्नुपर्छ भन्ने अभिव्यक्ति आपत्ति जनक भएको बताएका थिए। 'संविधान निर्माण गर्न नेपाली कांग्रेसले कँहाबाट कति पैसा दिएको छ? त्यसको जवाफ दिनुपर्ने प्रश्न खड्काले गरे। सार्वभौमसत्ता सम्पन्न मुलुकको संविधान निर्माण गर्दा सहयोग गर्ने दातृ निकायको भावनालाई समेत ख्याल गर्नुपर्ने भन्ने अभिव्यक्ति आपत्तिजनक भएको उनको तर्क छ।