काठमाडौं– व्यवस्थापिका संसद अर्न्तगतको विकास समितिले कर्णालीका सबै जिल्लामा दुई वर्षभित्र ठोस उपलब्धि प्राप्त हुने गरी आफ्नो मन्त्रालयको कार्य क्षेत्रभित्रका काम कार्यान्वयन गर्न निर्देशन दिएको छ।
समितिले संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार, वन तथा भू–संरक्षण, कृषि विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आ–आफ्नो कार्य क्षेत्रभित्रका कार्यक्रमहरु २ वर्षभित्र ठोस उपलब्धि प्राप्त हुने गरी विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्न भनेको हो। समितिको आइतवार बसेको बैठकले राज्यका तर्फबाट केन्द्रबाट दिइनु पर्ने नीतिगत तथा स्रोत साधनसम्बन्धी पक्षहरुमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयबाट सबै सम्बन्धित कार्यक्रमहरुलाई सहयोग उपलब्ध गराउन निर्देशनसमेत दिएको छ।
समितिले कर्णालीका सबै जिल्लाहरुमा सडक मर्मत सुधार गरी स्थानीय सडक यातायात सहज तथा सुरक्षित बनाउन निर्देशन दिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए।
हिमाली जलवायु तथा वातावरणका कारण कर्णाली क्षेत्रमा अमूल्य जडिबुटीहरुको प्राकृतिक भण्डारको रुपमा रहेको उल्लेख गर्दै समितिले कर्णाली क्षेत्रमा पाइने जडिबुटीको राष्ट्रिय लगत खडा गरी जडिबुटीको संरक्षण विस्तार, संकलन प्रशोधन तथा व्यापारका लागि व्यवस्थित कार्यक्रम बनाई एक वर्षभित्र कार्यान्वयन गर्न वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री रामशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी, कर्णाली विकास आयोगका अध्यक्षसँग कर्णालीमा भएका विकास आयोजनाबारे जानकारी लिएको थियो।
सो अवसरमा उपप्रधान तथा स्थानीय विकासमन्त्री सिंहले कर्णाली क्षेत्रको समग्र विकासका लागि एकीकृत विकास योजना अनुसार काम भइरहेको जानकारी दिएका थिए। उनले कर्णालीमा विकासको अथाह संभावना भएपनि राजनीतिक रुपमा नै कर्णालीलाई पछि पारिएको बताए। उनले सरकारले कर्णाली योजना, कर्णाली रोजगार रोड प्रोसेस योजनालगायत योजना कार्यान्यन गरिएको जानकारी दिए।
बैठकमा अर्थमन्त्री रामशरण महतले कर्णाली विकासको पूर्वाधार भए पनि विकास हुन नसकेको जनाए। सरकारले सबै जिल्लामा १२ महिना चल्ने सडक निर्माण मुख्य लक्ष्य बनाएको बताए। उनले स्थानीय जनता तथा राजनीतिक दल सक्रिय भएमात्र कर्णालीको विकास सम्भव हुने बताए। मुलुकमा लोकतन्त्र स्थापना भएपछि सरकारले कर्णालीलाई विशेष महत्व दिएको उनको भनाई थियो।
समितिको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले कर्णालीमा जिल्ला सडक, कृषि सडक, उत्तर दक्षिण सडक तथा ग्रामीण सडकको पुर्वाधार तयार भएको बताए।