काठमाडौं– संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका बहुसंख्यक सदस्य सभासदहरूले सभापति बाबुराम भट्टराईलाई असन्तुष्टि जनाउँदै हस्ताक्षर बुझाएका छन्। कांग्रेस–एमालेले पेश गरेको प्रस्ताव सभापतिले संविधानसभामा पेश नगरेको उनीहरूको आरोप छ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सोमबार साँझ ४३ सभासदहरूको हस्ताक्षरसहितको पत्र समिति सभापति भट्टराईलाई बुझाएका हुन्। हस्ताक्षर बुझेपछि भट्टराईले बहुसंख्यक सभासदले हस्ताक्षर गरेकाले आफूले बैठकको अध्यक्षता गर्न नमिल्ने भन्दै समितिको बैठक स्थगित गरेका छन्। कानुनविद् तथा राजनीतिक रूपमा छलफल गरेर मात्र अर्को बैठक बोलाउने उनले बताएका छन्।
७१ सदस्यीय समितिमा कांग्रेस, एमाले र केही साना दलका गरी ४३ सभासदले उनलाई हस्ताक्षर बुझाएका हुन्। उनीहरूले कांग्रेस–एमालेलगायत दलले ल्याएको प्रस्ताव समितिका सभापतिले समितिमा छलफल नगराएको तथा संविधानसभामा नपाएकोमा रोष प्रकट गरेका छन्।
कांग्रेस उपसभापति पौडेलले समिति बैठक स्थगित गराउनभन्दा पनि सहमतिका लागि दबाब दिनु हस्ताक्षर बुझाएको दाबी गरेका छन्। 'कांग्रेस–एमालेलगायत दलको साझा प्रस्ताव संविधानसभामा पठाइयोस् भनेर दबाब दिन हस्ताक्षर बुझाएका हौं,' उनले भने।
सहमतिका लागि भन्दै प्रमुख दलहरू सोमबार बिहानैदेखि छलफलमा थिए। सभामुखको समन्वयमा भएको बैठकमा कांग्रेस–एमालेले आफूहरुको प्रस्तावमा सहमति जनाउन एमाओवादीलाई आग्रह गरेका थिए। कांग्रेस–एमालेको प्रस्तावलाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने एमाओवादीले बताएको थियो। लगत्तै बसेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा पनि सहमति हुन नसकेपछि कांग्रेस, एमाले, राप्रपा, दुई स्वतन्त्र एक साना दलका सभासदले आफूहरूको प्रस्ताव संविधानसभामा पठाउन भन्दै हस्ताक्षर समितिका सभापतिलाई बुझाएका थिए।