काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सदस्यहरूले उपसमितिले दिएको सुझाव समितिमा नबुझाई परराष्ट्रमन्त्रीलाई सिधै बुझाएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार बसेको समितिको बैठकमा अधिकांश सदस्यले आफूहरूलाई थाहै नदिई परराष्ट्र मन्त्रीलाई बुझाएको भन्दै सभापति प्रभु साहको चर्को आलोचना गरे।
समितिले सार्क सम्मेलनमा दस्तावेजका रूपमा उठाउने विषयबारे सुझाव दिन एमाले सभासद राजन भट्टराईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उपसमितिले बुझाएको सुझाव समितिको पूर्ण बैठकमा पेश नगरिएको उनीहरूको आरोप छ। ‘कतिपयले हामीलाई समितिमा के भयो भनेर सोध्छन्। थाहा छैन भन्न पनि नमिल्ने, यसो भयो भनेर जानकारी दिने कुरा पनि हुँदैन,' समिति सदस्य बलबहादुर केसीले भने, ‘यस्तो लाजमर्दो स्थिति अबका दिनमा नहोस्।'
सार्क तयारी अन्तिम चरणमा
सार्क शिखर सम्मेलनको समग्र जानकारीबारे छलफल गर्न बसेको अन्तर्राष्ट्रिय तथा श्रम समितिको बैठकमा परराष्ट्रसचिव शंकरराज बैरागीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए।
सार्क सम्मेलनको विस्तृत कार्यक्रम, काठमाडौं घोषणापत्र, प्रधानमन्त्रीले गर्ने सम्बोधनलगायतबारे टुंगो लागिसकेको उनले जनाए। विदेशी पाहुना आउने सयम, उनीहरूले प्रयोग गर्ने मार्ग तथा घुम्नजाने स्थान निश्चित भइसकेको जनाए पनि उनले त्यसबारे विस्तृत खुलाएनन्।
उनका अनुसार सार्क सम्मेलनका लागि भारतबाट २० वटा गाडी खरिद किनिएको छ। सवारीका साधनसमेत भारतबाट ल्याएको भन्दै सभासदहरूले विरोध गरेका थिए। जवाफमा सचिव बैरागीले बुलेटप्रुफ गाडी नयाँ बनाउन ६/७ महिना लाग्ने र समय कम भएकाले भारतबाट ल्याउनु परेको स्पष्टीकरण दिएका थिए।
सार्क सम्मेलन स्थलको निर्माण अन्तिम चरणमा पुगेको, राजधानीका मुख्य सडक तथा सहर सरसफाईको काम केही दिनमा पूरा हुने उनले जनाए।