काठमाडौं– आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा २४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। मंसिर १० र ११ गते काठमाडौंमा हुने शिखर सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नाम परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो। सार्क शिखर सम्मेलनअन्तर्गतको सार्क विदेश मन्त्रालयका सहसचिवस्तरीय ‘प्रोग्रामिङ कमिटी'को बैठक भने शनिबार सुरु हुँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्य सचिव लीलामाणि पौड्याल, कामु परराष्ट्र सचिव शंकरदास वैरागी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ, पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्याल छन्।
परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख (सहसचिव) यज्ञबहादुर हमाल, परराष्ट्र प्रवक्ता खगनाथ अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला, उद्योग मन्त्रालयका सहसचिव यमकुमारी खतिवडा, परराष्ट्रका उपसचिवहरू मणिरत्न शर्मा, आनन्दप्रसाद शर्मा, रिता धिताल, लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्रका शाखा अधिकृतद्वय भोगेन्द्र लिङ्देन र बिनोद मुखिया पनि नेपाली प्रतिनिधिमण्डलमा छन्।
यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव वसन्त गौतम र परराष्ट्रमन्त्रीका सल्लाहकार अश्विन पुडासैनीलाई सल्लाहकार समूहमा राखी परराष्ट्रले सार्क प्रतिनिधिमण्डलमा राखेको छ।