काठमाडौं– सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलहरुसँगको भेटमा निर्धारित समयभित्रै सहमतिमा संविधान जारी गर्न जोड दिएका छन्। मंगलबार साँझ शिष्टचार भेटमा भारतीय प्रधानामन्त्री मोदीले निर्धारित समयमा सहमतिको आधारमा निर्धारित समयमा संविधान जारी गर्न आग्रह गरेका थिए।
मोदीलाई भेटेर फर्केका एकीकृत नेकपा माओवादीका नेताहरुले सहमतिको धारणाबाट 'उत्साहित' भएको बताएका छन् भने सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको जोड दिने विषय नौलो नभएको भन्दै सहमतिबाट पछि हटेको बताएका छन्।
'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिमा संविधान बनाउनुपर्छ अभिव्यक्तिले उत्साहित बनाएको छ,' मोदीसँग भेटर फर्केपछि प्रक्रिया दिँदै एमाओवादीका महासचिव कृष्णबहादुर महराले भने, 'माओवादीले त्यसका लागि धन्यवाद व्यक्त गरेको छ।' महराले संविधान निर्माण र आर्थिक विकासको बारेमा छलफल भएको बताए। भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र नेता टोपबहादुर रायमाझी सहभागी रहेका थिए।
यसअघि दिउँसो राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले सहमति नभै संख्याको आधारमा संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। मोदीसँगको भेटमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधानको निर्माण गर्न सहमतिका लागि प्रयास भैरहेको बताएका थिए।
प्रधानमन्त्री मोदीसँग भेटेर फर्केका एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमति जारी गर्ने विषयमा दलहरुबीच कुनै विमति नभएको जानकारी गराएको बताए। 'सहमति बनाउने विषयमा दलहरुबीच कुनै विमति छैन। तर सहमतिको आधार के हुने भन्ने विषयमा कुरा मिल्न सकेको छैन,' वरिष्ठ नेता खनालले भने, 'नेपालको संविधान नेपाली जनताले बनाउने हो अरुले होइन।' वरिष्ठ नेता खनालले सहमतिका लागि भारतीय प्रधानमन्त्री मोदीबाट जोड हुनु स्वभाविक भएको बताए। मोदीसँग भेटमा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष त्रय बामदेव गौतम, विद्या भण्डारी, भीम रावलसहितका नेताहरुको सहभागिता रहेको थियो। 'भारतीय प्रधानमन्त्री मोदीले सहमतिमा समयमै संविधान जारी होस भनेर जोड दिनु भएको छ,' उपाध्यक्ष गौतमले भने, 'यो नौलो कुरा होइन।'
नयाँ संविधानको अन्तरबस्तुको बारेमा कांग्रेस र एमालेसहितका दुई तिहाइ बहुमत पुग्ने गरी सहमति गरेका छन्। यसरी सहमति गर्ने दलहरुले सहमति नभए बहुमतको प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन्।
'संविधान सहमतिमै जारी गर्ने जोड हो। हामी पनि त्यसकै पक्षमा छौं, ' कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने 'ठूलो दल भएको नाताले कांग्रेसले नै त्यसका प्रयास गर्नुपर्नेमा जोड दिनु भएको छ।' मोदीसँग भेटमा कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव सहितका नेताहरुको सहभागिता रहेको थियो।
मोदीले सबैभन्दा पहिलो नेपाली कांग्रेस, त्यसपछि नेकपा एमाले र एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाका नेताहरुलाई भेट गरेका थिए। मोदी बस्दै आएको होटल सोल्टीमा सबै भेटघाट भएको थियो।