काठमाडौं– सरकारले हालै सम्पन्न दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनमा खटिएका सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीलाई प्रशंसास्वरुप 'सार्क मेमोरियल मेडल' प्रदान गर्ने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सोमबार बसेको १८ औं सार्क शिखर सम्मेलन तयारी मूल समितिको समीक्षा बैठकले मेडल दिने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकले सार्क शिखर सम्मेलनको तयारीको सिलसिलामा निर्माण भएका भौतिक पूर्वाधार, कार्यक्रम स्थललगायतको उचित संरक्षण एवं सुरक्षा गर्न एक समिति बनाई जिम्मा दिने निर्णयसमेत गरेको छ। १८औं सार्क शिखर सम्मेलन सम्पन्न भइसकेको हुँदा सोमबारकै मितिबाट सम्मेलन तयारी मूल समिति विघटन भएको छ।
शिखर सम्मेलनका तयारीका लागि गठित विषयगत समिति तथा उपसमितिहरू तोकिएको काम सम्पन्न गरी प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई बुझाएपछि स्वतः विघटन हुने जनाइएको छ। बैठकले समग्र सार्क शिखर सम्मेलनको समीक्षा गरेको थियो।
बैठकमा सम्मेलन तयारी तथा समन्वय समितिका संयोजक तथा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सार्क शिखर सम्मेलनको विविध पक्षमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। त्यसपछि सम्मेलन तयारीका लागि गठित समितिका संयोजकहरूले आ–आफ्नो समितिअन्तर्गत भएका कामको विवरण प्रस्तुत गरेका थिए। १८औं सार्क शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसबाट राष्ट्रको प्रतिष्ठा वृद्धिमा मद्दत पुगेको मूल समितिको निष्कर्ष छ।