काठमाडौं– नेकपा एमालेको आग्रहमा मधेसी मोर्चाका नेताहरुले शनिवार एमालेका शीर्ष नेताहरुसँग छलफल गरेका छन्। यसअघिको बैठकमा एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरुमात्र सहभागी हुने बैठकमा शनिवारको छलफलमा भने नेता माधव नेपालसमेत उपस्थित थिए।
बैठकमा एमाले नेताहरुले मधेसी मोर्चालाई कांग्रेस–एमालेलगायतका सत्तारुढ दलले पेश गरेको नौ बुँदे प्रस्तावमा सहमति गर्न आग्रह गरेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले जनाए।
ओली निवास बालकोटमा भएको छलफलमा एमालेले पुरानै कुरा दोहोर्याहएको महतोले बताए। 'हामीलाई (मधेसी मोर्चा ) एमालेले बोलाएर आफ्ना कुरा सनाउने गरेको छ,' महतोले नागरिकन्युजसँग भने,'बोलाउने तर सहमति नगर्ने एमालेको नीति रहेको बुझियो।' बाहिर सहमतिको लागि प्रयास गरिरहेको जस्तो देखिने तर भित्र सहमति विरोधी कुरा गर्ने गरेको महताले आरोप लगाए। 'नौं बुँदेमा सहमती जनाउन एमालेका नेताहरुले आग्रह गरे,' उनले भने,' पहिचान विरोधी, साम्प्रदायिकतालाई प्रोत्साहन दिने प्रस्तावमा सहमति जनाउने कुरै आउँदैन।'
बैठकमा एमाले नेता माधव नेपालले कांग्रेस–एमालेले प्रस्तुत गरेको नौ बुँदे अवधारणाको बचाउ गर्दै सो अवधारणामा सहमत हुन आग्रह गरेका थिए। 'यसअघिका बैठकमा सहमतिबाट संविधान जारी गर्नुपर्ने बताउँदै आएका नेता माधव नेपाललेसमेत नौ बुँदे प्रस्तावको बचाउ गर्दै सहमति गर्न आग्रह गर्नु भयो,' महतोले भने।
मोर्चाले भने विगतमा भएका सहमति र सम्झौता विपरित नौ बुँदे प्रस्ताव आएको भन्दै कुनै पनि अवस्थामा त्यसलाई स्विकार्न नसकिने बताएका थिए। बैठक पाँच घण्टासम्म चलेको थियो। बैठकमा संविधानका मुख्य विवादित विषयमा बुँदागत रुपमा छलफल भएको थियो। 'विवादको मुख्य विषय संघीयता हो,' बैठकपछि फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले भने,'प्रदेशको संख्या ठूलो विषय होइन, यसमा दलहरुबीच खास विवाद पनि छैन।'
एमाले उपमहासचिव विष्णु पौडेलले मधेसी दलका नेताहरुसँग सहमति हुन बाँकी भएका विषयमा सकारात्मक छलफल भएको बताए। बैठकमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, उपमहासचिव विष्णु पौडेल, नेता अग्नि खरेल तथा मधेसी मोर्चाका तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए।