काठमाडौं- सत्तारूढ कांग्रेस–एमाले सभासदहरूले संविधानका विवादित विषय संविधानसभाबाटै टुंगोमा पुर्याउन नियमावली संशोधनका लागि 'बाधाअड्काउ फुकाउने' अधिकार प्रयोग गरी अग्रसरता लिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन्।
संविधानसभा नियमावलीका नियम २७ र १७० बमोजिम अहिलेका जटिलता फुकाउन सकिने सुझाव उनीहरूले दिएका छन्। संविधानसभा कार्यसञ्चालन नियमावलीको नियम १७० मा 'बाधाअड्काउ फुकाउने' व्यवस्था छ।
'यस नियमावलीबमोजिम कार्य सञ्चालन गर्दा कुनै बाधाअड्काउ परे अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा आवश्यक र उपयुक्त व्यवस्था गरी बाधाअड्काउ फुकाउन सक्नेछ,' नियम १७० मा उल्लेख छ।
त्यस्तै, नियम २७ मा 'संविधानसभा बैठकमा पेस हुने विषयहरूको प्राथमिकता तथा समयावधि निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने सम्बन्धमा र अध्यक्षले आवश्यक ठहर्यारएका अन्य विषयमा परामर्श दिन संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका सदस्य समावेश गरी बढीमा ४९ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने' उल्लेख छ।
नियम १७१ मा 'नियमावली व्याख्या गर्ने अधिकार अध्यक्षलाई हुने र उनको निर्णय अन्तिम हुने' भनिएको छ। त्यस्तो निर्णयको जानकारी सभालाई दिइने नियममा छ।
कांग्रेस सभासद तारिणीदत्त चटौतले नियम १७० बमोजिम संविधानसभा अध्यक्षले बाधाअड्काउ फुकाएर गतिरोध अन्त्य गर्न नेतृत्व लिनुपर्ने बताए।
'अध्यक्षले नेतृत्व लिएर दुवै धाराका आधारमा कार्यव्यवस्थामै प्रतिवेदन लगेर टुंगोमा पुर्या उनुपर्छ,' चटौतले भने, 'अध्यक्षले अब खुट्टा कमाउन हुँदैन। कार्यव्यवस्थाबाटै जाँदा दुवै पक्षलाई 'विन–विन' को अवस्था हुन्छ।'
उनले विवादित विषयलाई अब कुनै हालतमा संवाद समितिमा पठाउन नहुने धारणा राखे। 'संविधानसभाले नै अन्तिम भनेपछि अब फेरि पनि त्यहाँ पठाउनुको औचित्य हुँदैन,' उनले भने, 'संविधानसभाको पूर्ण बैठकमा पनि प्रक्रियामा कसरी जाने भन्ने अन्योल हुन्छ। त्यसैले बाधाअड्काउ फुकाउ नै सही विकल्प हुन सक्छ।'
कांग्रेस नेता एवं कानुनमन्त्री नरहरि आचार्यले पनि अब गतिरोधको निकास दिन संविधानसभा अध्यक्षको भूमिका नै महत्त्वपूर्ण हुने धारणा राखे। 'संविधानसभाले अन्तिमपटक भनेपछि अब फेरि संवाद समितिमा पठाउनु हुँदैन,' उनले भने, 'अन्तिम भन्ने मानेरै ५९ औं बैठक एक महिना लम्बिएको हो। अब संविधानसभाले अर्को उपाय खोज्नुपर्छ।' त्यसनिम्ति संविधानसभा अध्यक्षले नै पहल थाल्नुपर्ने उनले बताए।
'संविधानसभाबाट संयन्त्र बनाउन आवश्यक निर्णय हुनुपर्छ,' आचार्यले भने, 'यसमा अब अध्यक्षज्यूको भूमिका महत्त्वपूर्ण हुन्छ। अध्यक्षले नै अग्रसरता लिनुपर्छ। आवश्यक प्रक्रिया अंगाल्ने गरी अघि बढ्नुपर्छ।'
कांग्रेसकै कमल पंगेनीले संवाद समितिका सभापति बाबुराम भट्टराई निष्पक्ष हुन नसकेको आरोप लगाए। 'संवाद समितिका सभापति नै निष्पक्ष हुन सक्नुभएन,' उनले भने, 'यो नै संविधानसभाको दुर्भाग्य हो।'
संविधानसभा सचिवालय स्रोतका अनुसार छलफल हुँदै गर्दा दलहरूबीच विवादित विषयमा सहमति कायम हुन नसकेको अवस्थामा अन्य विकल्पमा गृहकार्य भइरहेको छ। 'अहिले संवाद समितिमा पठाउने र नपठाउने भन्ने स्पष्ट दुई भागमा सभासदहरू विभाजित भएका छन्,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'संविधानसभाको पूर्ण बैठकले प्रश्नावली बनाउन नसक्ने भएकाले विकल्प भनिएको हुनसक्छ। यो भनेको अर्को समिति बनाउने हो। त्यसका लागि नियमावली संशोधन गर्नुपर्छ। नियमावली संशोधन गर्न विपक्षीको पनि सहयोग आवश्यक हुन्छ।'
स्रोतका अनुसार विपक्षीलाई पनि सहमतिमा ल्याउन थोरै दिनको समय तोकेर संवाद समितिलाई प्रश्नावली बनाउन दिन सकिन्छ। त्यो समयमा प्रश्नावली बनाउन नसके भोलिपल्टै संविधानसभा बैठक बोलाएर नियमावली संशोधन प्रक्रिया अघि बढाउन पहिले नै सहमति कायम हुनुपर्छ।
'मानौं, तीन दिनभित्र प्रश्नावली बनाएर ल्याऊ भनेर संवाद समितिलाई भन्न सकिन्छ तर तीन दिनमा नल्याए चौथो दिनको संविधानसभाले नियमावली संशोधन प्रक्रिया अघि बढाउन सक्छ भनेर पहिल्यै सहमति कायम हुनुपर्छ,' स्रोतले भन्यो।
संविधानसभा बैठकमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले संवाद समितिलाई पटकपटक समय दिँदा पनि विवादित विषय टुंगोमा पुर्या्उन नसकेकाले फेरि समय दिन नसकिने धारणा राखिन्।
'संवाद समितिलाई पटकपटक दिएको समय खेर गयो,' उनले भनिन्, 'उपलब्धि केही भएन, अकर्मण्य बनेको संवाद समितिमा अब फेरि पनि विवादित विषय पठाउन मिल्दैन।' उनले विवादित विषयमा सहमति कायम हुन नसके मुलुकलाई सधैं अनिर्णयको बन्दी बनाउन नहुने तर्क गरिन्।
एमालेकै ममता गिरिले संवाद समिति असफल भइसकेकाले अब फेरि त्यही ठाउँमा विवादित विषय पठाउन नमिल्ने धारणा राखिन्। 'आफैंले बनाएको कार्यतालिका बाहिर जानु देश र जनतालाई धोका दिनु हो,' उनले भनिन्, 'अब विवादित विषय संविधानसभाबाटै टुंग्याउनुपर्छ।'
एकीकृत माओवादीका हरिबोल गजुरेलले सहमतिको प्रयास र प्रक्रिया सँगसँगै अघि बढाउनु भनेको दोहोरो मापदण्ड हुने भएकाले सँगै जान नसक्ने तर्क गरे। उनले आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधानसभा निर्वाचन भएकाले त्यसबाट पछि हट्न नसकिने धारणा राखे। उनले फेरि पनि संवाद र सहमतिका लागि संवाद समितिलाई नै अवसर दिनुपर्ने तर्क गरे।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कस्तो संविधान बनाउने र त्यसको आधार के तय हुने भन्ने पहिल्यै निर्क्योल गर्न नसक्दा अप्ठेरो परेको बताए। उनले विगतमा भएका आन्दोलन र सहमतिलाई टेकेर संविधान निर्माण सुरु भएकाले आफूहरू स्वायत्त मधेस प्रदेशको पक्षमा रहेको धारणा राखे।
राप्रपा नेपालका दिलनाथ गिरिले प्रक्रियामा गएर पनि माघ ८ मा संविधान जारी हुनुपर्ने धारणा राखे।
लम्ब्याउने रणनीति
संविधानसभामा आफ्नो धारणा राख्ने सभासदहरूलाई यसअघिभन्दा बढी समय उपलब्ध गराएर समय घर्काउने रणनीति अपनाइएको छ। संवाद समितिको प्रतिवेदनमा आफ्नो धारणा राख्न चाहनेको संख्या ३ सय पुगेको छ। छलफल क्रममा अन्य सभासदले पनि नाम लेखाउन पाउँछन्, त्यसैले यो संख्या अझ बढ्न सक्छ।
सोमबार २५ सभासदले आफ्नो धारणा राखेका थिए भने मंगलबार सोमबारभन्दा केही बढीले धारणा राखेका छन्। यसअघिका प्रतिवेदनमा प्रत्येक सभासदलाई तीन मिनेटको समय उपलब्ध गराइने भए पनि अहिले पाँच मिनेटको समय दिइँदै आएको छ। दलका प्रभावशाली नेताका लागि थप पाँच मिनेट व्यवस्था गरी दस मिनेट पुर्याइएको छ। यही तरिकाले छलफल भए एक साताभन्दा बढी संवाद समितिको प्रतिवेदनमाथिकै छलफलमा बित्ने देखिएको छ।