काठमाडौं–गृहमन्त्री वामदेव गौतमले मदिरा सेवन गरी राजमार्गमा हिँड्नेलाई पनि कारवाही गर्नु पर्ने बताएका छन्। मदिरा सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको तर्क गर्दै मदिरा बिक्री वितरणलाई कडाइ गर्नुपर्ने गौतमको भनाइ छ। शुक्रवार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री गौतमले अधिकांश सवारी दुर्घटना मदिरा सेवनका कारण हुने भन्दै त्यसलाई नियन्त्रण गर्न दबाब दिन समितिका सदस्यलाई आग्रह गरे। 'भारत वा अमेरिकामा जस्तै नेपालमा पनि मदिरा बिक्री बितरणमा कडाइ गर्नुपर्छ,' गौतमले भने, 'मदिरा किन्न जाँदा तीनपुस्ते नाम उल्लेख गर्नुपर्छ।'
गृहमन्त्री गौतमले राजमार्गमा ५ सय मिटरको आसपासमा मदिरा बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आफू गृहमन्त्री भएको बेला मदिरा बिक्री वितरणलाई व्यवस्थित बनाउन तत्काली अर्थमन्त्री बाबुराम भट्टराईलाई प्रस्ताव गरेको उल्लेख गर्दै गृहमन्त्री गौतमले आफ्नो प्रस्तावमा अर्थमन्त्री सकारात्मक भएपनि अर्थसचिवले त्यसलाई रोकेको गुनासो गरे। 'मदिरा बिक्री वितरणलाई कडाई गर्न मैले तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलाई प्रस्ताव गरेको थिए,' उनले भने,' मेरो प्रस्तावमा अर्थमन्त्री सहमत हुनुभएको थियो। तर पछि सचिवले मदिरा बिक्री वितरणमा कडाई गर्दा राजश्व गुम्ने डर देखाएर मेरो प्रस्ताव लागू हुन सकेन।'
मदिरा बिक्री वितरण कम भयो भने राजश्व कम हुने चिन्ता अर्थका अधिकारीलाई रहेका कारण आफूहरुको योजना कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। 'एकवर्षमा मदिराबाटमात्र २६ करोड राजश्व संकलन हुन्छ,' उनले भने,'वर्षमा २६ करोडमात्रै राजश्व संकलन हुन्छ भने नेपालीले कति रक्सी खाँदा रहेछन।'
गृहमन्त्रीले मदिरा बिक्री वितरणमा कडाइ गर्न सुझाएपछि राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले गौतमप्रति कटाक्ष गरे। अत्याधिक मदिरा सेवन गर्नेमा राजनीतिक दलका ठूला नेता भएको उल्लेख गर्दै केसीले कुनै भोजभतेरमा भएपछि सबैभन्दा पहिला ठुला नेताहरुको मुख रक्सीमा पुग्ने गरेको बताए। 'कुनै भोजभतेरमा गयो भने ठुला नेताको मुख पहिला रक्सीमा नै पुग्छ,' केसीले भने,' अनि नयाँ पिढीले के सिक्छन?'उनले मुलुक मदिरा र लागू औषधले बर्बाद भएको बताए। केसीले बोल्दा गृहमन्त्री भने बैठकबाट निस्किसकेका थिए। केसीको भनाइ प्रति एमाले उपाध्यक्ष विद्या भण्डारीले भने आपत्ति जनाइन। उनले सबै नेता रक्सी खानेमात्रै नभएको उल्लेख गर्दै उनले भनिन,' सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन। रक्सी नखाने सादगी नेताहरु पनि छन।'
गृहमन्त्रीको आलोचना
शुक्रवार राज्य व्यवस्था समितिले प्राकृति प्रकोप शीत लहर, सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक व्यवस्थापन सम्बन्धी विषयमा सम्बद्ध निकायबाट भए गरेका काम कारवाहीका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम राखिएको थियो। साढे आठ बजे बोलाइएको बैठकमा गृहमन्त्री ५० मिनेट ढिला आएपछि सभासदहरुले आलोचना गरेका हुन्। गृहमन्त्री बैठकमा आएपनि कसैका कुरा नसुनी आफ्ना कुरा भनेर बाहिरिएपछि सभासदहरु झन आक्रोशित भएका थिए।
गौतमले आफू गृहमन्त्री र पार्टीको उपाध्यक्ष पनि भएकाले तत्काल बैठकमा उपस्थित हुन खबर गर्दा समस्या भएको गुनासो गरे। 'म गृहमन्त्री र पार्टीको उपाध्यक्ष पनि हो,' उनले भने,' त्यसमा संधिवान निर्माणको काम पनि छ। त्यसैले पहिला नै जानकारी दिएर बैठकमा बोलाउन आग्रह गर्छु।' गौतमले नेपाल प्रहरीमा जनशक्ति कम भएका कारण प्रयाप्त काम गर्न नसकेको बताए। 'जनतालाई अधिकार सिकाउन पनि प्रहरी नै चाहिन्छ,' उनले भने,' तर प्रहरीको जनशक्ति भने निकै कम छ। त्यसमा पनि स्रोत साधनको कमीले गर्दा काम गर्न निकै समस्या भएको छ।' उनले नेपाल प्रहरीमा दश हजार जनशक्ति आवश्यक रहेको बताए। आफूले यो विषयमा पटक पटक अर्थमन्त्रालयलाई जानकारी गराउँदा किन चाहियो धेरै प्रहरी भनेर प्रश्न गरिएको बताउँदै त्यसका लागि पहल गर्न समिति र सदस्यहरुलाई आग्रह गरे। 'मुलुकभरमा ५० हजार प्रहरीको आवश्यकता छ,' उनले भने,'तर अहिलेलाई दश हजार भएपनि काम चल्छ भन्दा अर्थमन्त्रालयले स्वीकृति दिएन। ' उनले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई प्रयाप्त अधिकार दिनुपर्ने बताए। 'जसले ट्राफिक नियम उल्लघंन गर्छ त्यसलाई एक हजार जरिवाना गराउनुपर्छ,' उनले भने,'त्यो दिन नमाने २ त्यो पनि नमाने ४ चार पनि नमाने ८ त्यो पनि नमाने जेल सजाय हुनुपर्छ।'