काठमडौं–सत्तारुढ दल कांग्रेस–एमालेले संविधानका अर्न्तवस्तुमा सहमतिमा आउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन्। शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस एमालेले प्रस्ताव गरेको नौ बुँदे प्रस्तावमा सहमति जनाउन आग्रह गरेको मधेसी मोर्चाका नेताहरुले बताएका छन्।
'सहमतिबाटै संविधान जारी गर्ने हो भने आफूहरुको प्रस्तावमा सहमति जनाउनुपर्ने आसय उहाँहरुले राख्नु भयो,' बैठकमा सहभागी मधेसी मोर्चाका नेता महेन्द्र यादवले नागरिकन्युजसँग भने,' आफ्नो प्रस्तावमा सहमति नजनाए बहुमतीय प्रक्रियाबाट संविधान जारीगर्ने सोच उहाँहरुमा पाइयो।' मोर्चाले भने चार शक्ति (कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चा) बीच संविधानका अर्न्तवस्तुमा न्यूनतम विषयमा सहमति हुनुपर्ने बताएको यादवले जनाए। सत्तापक्षले अलग अलग बैठक बोलाएर दलहरुबीच विभाजन गर्न खोजेको मोर्चाले आरोप लगाएको छ। 'मोर्चाले चारवटै राजनीतिक शक्तिबीच एकै पटक छलफल गरी सहमतिको प्रयास गर्नुपर्ने प्रस्ताव गरेको छ,' यादवले भने,'तर, उहाँहरु (कांग्रेस–एमाले) छुट्टा छुट्टै बैठक गरी दलहरुबीचमा विभाजन गर्ने प्रयासमा हुनुनुन्छ।'
बैठकमा एमाले अध्यक्ष केपी ओली आक्रामक रुपमा प्रस्तुत भएको बैठकमा सहभागी एक नेताले जनाए। 'कांग्रेस त सहमति गरेरै जानुपर्छ भन्नेमा देखियो,' एक नेताले भने,'तर एमाले सहमतिको विपक्षमा स्पष्ट रुपमा देखा परेको छ।' मोर्चाले संविधान जारी गर्ने मिति नजिकिँदै गर्दा संविधानका न्यूनतम विषयमा सहमति गर्नुपर्ने प्रस्ताव राखेको तर सत्तापक्षबाट सहमति गर्ने प्रतिबद्धतासमेत नआाएको मोर्चाका नेताहरुले जनाएका छन्। 'निर्णायक वार्ता भनेर हामीलाई बोलाइएको थियो,' यादवले भने,'तर उहाँहरुले त आफ्नै प्रस्तावमा लालमोहर लगाउन पो बोलाउनु भएको रहेछ।' बैठकमा मधेसी मोर्चाले कुनै पनि हातलमा तराईलाई पहाडसँग जोड्न नहुने बताएका थिए। कांग्रेस–एमालेको पेश गरेको नौ बुँदे प्रस्तावमा बहुपहिचानमा आधारित सात प्रदेश बनाउने उल्लेख छ।
शनिवार नै एमाओवादीसँग 'निर्णायक' भनिएको वार्ता तनावपुर्ण भएपछि मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास सत्तापक्षीय दलले गरेका थिए।
कांग्रेस–एमालेले शनिवार नै एकीकृत नेकपा माओवादीसँग छलफल गरेको थियो। निर्णायक भनिएको सो छलफलमा आफूहरुलाई धम्कीपुर्ण भाषा प्रयोग गरेको, पेल्न खोजेको भन्दै एमाओवादीका नेता बैठकबीचबाटै उठेर हिँडेका थिए। बैठकमा एमाले अध्यक्ष केपी ओलीले कुनैपनि हालतमा पहिचानसहितको संघीयता जारी गर्न नसकिने बताएको बैठकमा सहभागी एक नेताले जनाए।
एमाओवादी नेतृत्वको १९ दलीय संघीय लोकतान्त्रिक गठबन्धनले तोकिएको मितिमा संविधान जारीगर्न हदैसम्मको लचकता अपनाउने निर्णय गरेको थियो।